काठमाडौं । ठिक दुई वर्ष अघि । सारा नेपाली क्रिकेट समर्थकको ध्यान नामिबियामा केन्द्रित थियो ।
कारण, आईसीसी डिभिजन-२ अन्तर्गत लिगको अन्तिम खेलमा नेपाल र क्यानडा भिड्दै थिए । नेपाली क्रिकेटका लागि फ्रेब्रुअरी १४ को दिन निकै महत्वपूर्ण थियो । खेल जितेमा नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गर्ने निश्चित थियो ।
खेलेको सुरुमै टस नेपालले जित्यो । क्यानडालाई निम्तो दियो, ब्याटिङको ।
पुरै ओभर खेल्दै क्यानडाले ८ विकेट गुमार १ सय ९४ रन बनायो ।
नेपालले १ सय ९५ रनको लक्ष्य पाएको थियो ।
जब नेपाल ब्याटिङमा उत्रियो, नेपालको ब्याटिङ लाईन धरासायी देखियो । खराब सुरुवात गरेको नेपालले मुख्य ब्याट्सम्यानलाई सस्तैमा गुमाईसकेको थियो ।
१ सय ४४ रन बनाउदाँ नेपाल ८ विकेट गुमाएको नाजुक अवस्थामा थियो ।
एक हिसाबले खेल नेपालको हातबाट फुत्किसकेको थियो ।
अनि मैदानमा प्रवेश करण केसीको भयो ।
त्यसअघि, दिलिप नाथले ४१, रोहितकुमार पौडेल २७, आरिफ शेखले २६ र दिपेन्द्र सिंह ऐरीले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेका थिएनन् ।
यस्तो अवस्थामा नवौं विकेट खस्दा खेल पुर्ण रुपमा क्यानाडामा ढल्किएको थियो । उनीहरु सेलिब्रेसनको तयारीमा देखिन्थे । नेपालको झिनो आशलाई करण र सन्दीप लामिछानेले प्राण भरिरहेका थिए ।
नेपाललाई ४२ बल खाँचो ५१ रनको थियो ।
धेरै क्रिकेट प्रेमीले आश मारिसकेका थिए । कतिले नेपाल हारेको दाबी गर्न भ्याईसकेका थिए । तर नजर अन्तिम विकेटमा अडिएको थियो । लाईभ हेर्न नपाएका दर्शक सेकेन्ड सेकेन्डमा कम्प्युटर स्क्रिनको वेव पेज रिफ्रेस गरिरहेका थिए ।
सबैको प्रार्थानामा पशुपति नाथ थिए ।
क्रिजमा पुगेका करण विस्तारै जम्दै थिए, पोविलियनबाट सन्दिपले राम्रो साथ दिईरहेका थिए ।
करण बेला बेला चौथा र छक्का बर्साउथे, समर्थकको आशाको त्यान्द्रो बढेर आउथ्यो ।
अन्तिममा नेपाललाई १२ बलमा २१ रन चाहिएको थियो ।
करणले ४९ औ ओभरमा एक चौका र एक छक्काको मदतले १३ रन बनाए । नेपाललाई अब जितका लागि ८ रन चाहिने भयो । विकेट अन्तिम थियो, एक ओभर बचेको थियो ।
पुरै मैदान शान्त देखियो । एकछिन सन्नाटा छायो । सबैको आखाँ करणको ब्याटमा अडिएका थिए ।
अन्तिम ओभरको सुरुवाती ४ बल नेपालले डट खेल्यो । अब २ बल बाँकी रह्यो । जित्न ८ रन चाहिएको थियो । अर्थात दुई बलमा दुई ब्याउन्ड्री आवश्यक थियो ।
क्यानडाका प्रभेज बल लिएर अघि बढ्दै थिए, उनीसंगै अघि बढिरहेको थियो नेपाली क्रिकेट समर्थकको सास ।
करणले कुनै गल्ती गरेनन्, लामो छक्का प्रहार गरिदिए ।
अब अन्तिम बलमा नेपाललाई दुई रन अवाश्यक थियो । जसले नेपाली क्रिकेटलाई विश्वकप छनोट र ‘वान डे’ मान्यताको दिशातर्फ डोर्याउने निश्चित थियो ।
अन्तिममा प्रभेजले एक वाईड बल फाले, खेल नेपालको पक्षमा ढल्कियो ।
नेपाल नहार्ने निश्चित भयो ।
विश्वकप छनोट खेल्न नेपाललाई एक बलमा एक रन आवश्यक थियो ।
त्यसमा समेत करणले आवश्यक रन बटुल्दै नेपाललाई वन डे मान्यताको बाटोमा अग्रसर गराए ।
जब करणले अन्तिम रन बटुले, सबै खेलाडी खुसीले मैदान प्रवेश गरे । सन्दीप र करणले मैदानमै खुसी मनाए ।
क्रिकेट समर्थक घर घरबाट निस्कन थाले, केही बेरमै सडकमा स्वत स्फुर्त विजयी जुलुस निक्लियो ।
सोही कारण नेपाली क्रिकेट र समर्थकले फ्रेब्रुअरी १४ अर्थात आजको दिनलाई बिर्सने छैनन् ।
सोही निर्णायक खेलमा बाजी मार्दै नेपाल पहिलो पटक विश्वकप छनोट खेल्न पाएको थियो । र, त्यही खेलले तय गरेको बाटोमा नेपाली क्रिकेटको अहिलेको जग बसेको हो ।
अन्तिममा एक प्रश्न,
यदी करणले ३१ बलमा ४२ रन नबनाएको भए ?
धेरैलाई यो प्रश्न मन पर्दैन । कारण, त्यही ईनिङ्सले नेपाली क्रिकेटलाई नयाँ युगमा प्रवेश गराएको थियो ।