काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) तीन खेल हुँदैछन् । लिगको अन्तिम चरणको खेलको दोस्रो दिन तीन खेल हुन लागेको हो ।
तीनै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटी, दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब र अन्तिम खेलमा जावलाखेल युथ र साविकको विजेता मनाङ मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शेर्पा र एनआरटी बीचको पहिलो खेल बिहान पौने ९ बजे सुरु हुनेछ । शीर्ष ६ को दौडबाट बाहिरिसकेका दुबै टिमबीच प्रतिष्ठाको लडाई हुनेछ ।
एनआरटी लिगको पाँचौ जितको खोजीमा हुनेछ । शेर्पा तेस्रो जित निकाल्न चाहन्छ ।
शुक्रबार दुबै टिम दोस्रो रोजाईको खेलाडीलाई मौका दिने योजनामा छन् ।
शेर्पा्विरुद्ध एनआरटीले आफ्ना एरिक बिष्ट, सकल रेग्मी र कप्तान प्रकाश बुढाथोकीलाई गुमाउने छ । एरिक र सकल दोहोरो पहेलो कार्डका कारण प्रतिबन्धमा छन् भने प्रकाश चोटका कारण टिम बाहिर छन् ।
शेर्पाले भने अघिल्लो खेलमा रातो कार्ड ब्यहोरेका डिफेन्डर निरज बस्नेतलाई गुमाउनेछ । दुबै टिमले एक आपसमा तीन तीन विदेशी खेलाडी खेलाउने छन् ।
दिनको दोस्रो खेल ‘पाटन डबी’ अन्तर्गत रहेको छ । खेल मध्यान १२ बजे सुरु हुनेछ ।
च्यासलविरुद्ध जित निकाल्दै थ्री स्टार शीर्ष तीनमा पर्न चाहन्छ । तर उसलाई जितले मात्रै पुग्दैन ।
तेस्रो खेलमा मनाङ भने जावलाखेलसँग पराजित हुनुपर्नेछ । च्यासलसँग थ्री स्टारको जित र जावलाखेलसँग मनाङले हारको समिकरणले मात्र थ्री स्टार तेस्रो स्थानमा पुग्नेछ ।
थ्री स्टार क्बलका प्रशिक्षक मेघराज केसी च्याससलाई पराजित गर्दै शीर्ष तीनमा उक्लिन प्रयास गर्ने बताउँछन् ।
‘च्यासललाई पराजित गर्दै शीर्ष ३ मा पर्न चाहन्छौ. । तर जितेर मात्रै पुग्दैन । मनाङ हार्नु पनि पर्छ ।’ प्रशिक्षक मेघराज केसी भन्छन् ।
यता, तीन महिनाको प्रतिबन्धबाट मैदान फर्किएका च्यासलका मिडफिल्डर दिनेश राजबंशी लिगको अन्तिम खेल सुखद बनाउने दाउमा छन् ।
उनी ९० दिनको प्रतिबन्धपछि पहिलो पटक लिग खेल्न लागेका हुन् । डिस्को काण्डमा मुछिदा उनी एन्फाको अनुशासन कारबाहिमा परेका थिए ।
शुक्रबार च्यासल पाँचौ जितको खोजीमा हुनेछ । च्यासलले आफ्ना तीन विदेशी खेलाडी मैदान उतार्ने छ भने थ्री स्टारले ४ विदेशी खेलाडीलाई प्रयोग गर्न पाउनेछ ।
यस्तै दिनको अन्तिम तथा लिगको ’सेकेन्ड लाष्ट‘ खेलमा जावलाखेल र साविकको विजेता मनाङ मस्र्याङ्दी क्लब भिड्दैछन् । खेल दिउँसो साढे ३ बजे एन्फा मैदानमा सुरु हुनेछ ।
जावलाखेल र मनाङ दुबैले सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् । मनाङ भने शुक्रबार तेस्रो स्थानको लागि भिड्दैछ । तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्न मनाङलाई जितको विकल्प छैन ।
दिनको दोस्रो खेलमा थ्री स्टारले जित निकाले मनाङलाई जित्नैपर्ने दबाब छ । थ्री स्टारको बराबरी तथा हारले मनाङलाई स्वत फाईदा पुग्नेछ ।
मनाङका प्रशिक्षक धनेश्वर प्रजापती शीर्ष तीनको लागि आफ्नो टिमले लडाँई गर्ने बताउँछन् ।
‘शीर्ष तीनको लागि अवसर रहेको छ । त्यसैको लागि लाग्छौं ।‘ उनी भन्छन् ।
जावलाखेलविरुद्ध मनाङका कप्तान कमल श्रेष्ठ र स्ट्राइकर बिमल राना टिममा रहने छैनन् ।
दुबै खेलाडी दोहोरो पहेलो कार्डका कारण मैदान बाहिर रहनेछन् । मनाङको नेतृत्व ६ गोल गरिसकेका अन्जन बिष्टले गर्नेछन् ।
यता, जावलाखेल पनि मनाङलाई पराजित गर्दै लिगको शीर्ष ५ मा उक्नले दाउमा हुनेछ । तर शीर्ष ६ को स्थान पक्का रहेको अवस्थामा उसले बेन्चका खेलाडीलाई अवसर दिने प्रबल सम्भावना छ ।
शुक्रबार जावलाखेल तीन विदेशी खेलाडी मैदान उतार्ने छ भने मनाङले ४ विदेशी खेलाडीलाई प्रयोग गर्न पाउनेछ ।