काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवाललाई औपचारिक बिदाई गर्दै कार्यवहाक जिम्मेवारी जगत टमाटालाई दिएको छ ।
त्रिदेशीय सिरिज लगत्तै राजीनामाको घोषणा गरेका पटवाललाई क्यानले बिहिबार औपचारिक बिदाई गरेको हो । पटवाल शुक्रबार भारत फर्कने कार्यक्रम रहेको छ ।
पटवालको बिदाईसंगै क्यानले टमाटालाई राष्ट्रिय क्रिकेट टिमको कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
क्यान स्रोतका अनुसार थाईल्याण्डमा हुने एसीसी ईस्टर्न रिजन टी–ट्वान्टी कप हेर्ने गरि टमाटालाई जिम्मेवारी दिईएको हो ।
प्रतियोगिताको तयारीका लागि केही दिनमै क्याम्प चलाउनुपर्ने भएकाले टमाटालाई कामचलाउ जिम्मेवारी दिईएको हो ।
टमाटाले फेब्रुअरीको २९ बाट थाईल्याण्डमा हुने प्रतियोगितामा नेपाली टिमको नेतृत्व गर्नेछन् । ईस्टर्न रिजन प्रतियोगिता मार्च ६ सम्म चल्नेछ ।
प्रतियोगिता खेल्ने प्रारम्भिक टोलीको घोषणा क्यानले यसअघिनै गरिसकेको छ ।
'मुख्य प्रशिक्षक नभएको अवस्थामा कामचलाउ रुपमा टमाटालाई टिम हेर्न दिईएको हो ।' क्यानका एक पदाधिकारीले खेलपाटीलाई भने, 'नयाँ प्रशिक्षक नियुक्तीको आन्तरिक तयारी समेत अघि बढेको छ ।'
क्रिकेट टिमका मुख्य प्रशिक्षक पटवालले तलबको कारण देखाउँदै पद त्यागको निर्णय गरेका थिए । उनले सम्झौता सकिन झण्डै ४ महिना अघि पदबाट राजीनामा दिएका थिए ।
क्यान निलम्बनको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पटवाललाई एक बर्षका लागि नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
नेपाल सम्मिलित ईस्टर्न रिजन टी–ट्वान्टी कपमा नेपाल सहित सिंगापुर, हङकङ, मलेसिया, भुटान, चीन र म्यानमार खेल्दैछन् ।