काठमाडौं । छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता शनिबारबाट हुने भएको छ ।
आयोजक एसएस इभेन्टस् प्रालिले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबारबाट सुरु हुने जनाएको छ । टियु क्रिकेट मैदानमा हुने प्रतियोगिता फागुन ७ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा २३ कर्पोरेट टिमको सहभागिता रहनेछ । सहभागी टोलीलाई ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष २ टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउने छन् । खेल ५ ओभरको हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै विजेताले अर्को वर्ष निःशुल्क प्रवेश पाउनेछ ।
उपविजेताले ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट विकेट किपरले पनि ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् ।
गत वर्ष सेन्चुरी बैंकले उपाधि जित्दा एनआईसी एसिया बैंक उपविजेता बनेको थियो ।