काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि सानदार जित निकाल्यो ।
त्रिवि क्रिकेट मैदानमा बुधबार नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्यो । जितसँगै नेपालले सिरिजको ४ खेलमा २ जितसहित सुखद अन्त्य गर्यो ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको अमेरिका मात्र ३५ रन जोड्दा अलआउट भयो । अमेरिकाविरुद्ध नेपाली स्पिनर हाबी देखिए । यस्तै नेपालविरुद्ध पनि अमेरिकी स्पिनरले विकेट लिए ।
सुरुवातमा ब्याटिङ गर्न क्रिजमा आएका अमेरिकी ब्याट्सम्यानले नेपाली स्पिनर सामु खुलेर खेल्न सकेनन् ।
ड्याम्प (नम) देखिएको पिचमा खेलअघि नै स्पिनरलाई सहज हुने देखिएको थियो । त्यसैले नेपालले खेलमा ३ मुख्य स्पिनर खेलाएको थियो ।
६ ओभर १ बलमा २३ रन बनाएर २ विकेट गुमाएको अमेरिकाले थप १२ रन जोड्दा अल आउट भयो । अमेरिकाको इनिङ ध्वस्त पार्न नेपालका स्पिनरले मुख्य भूमिका खेले ।
ग्लोबल आइकन सन्दीप लामिछानेले रेकर्ड ब्रेकिङ बलिङ गर्दा सुशन भारीले साथ दिए । नेपालको लागि पहिलो विकेट सन्दीपले दोस्रो ओभरको अन्तिम बलमा होल्याण्डलाई पारस खड्काको हातबाट स्लिपमा उत्कृष्ट क्याच गराए ।
मार्शलले अमेरिकाको इनिङ उकास्न तेस्रो ओभरमा करण केसीलाई २ चौका हिर्काउँदा सुशनले आफ्नो व्यक्तिगत पहिलो बलमा पुन: स्लिपमा पारसको हातबाट आउट गराए ।
मार्शल आउट हुनु अघि अमेरिकाका लागि सर्वाधिक १६ रनको इनिङ्स खेले । त्यसपछी ब्याटिङमा आएका अमेरिकाका कुनै ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । त्यसपछीको हरेक ओभरमा नेपाली स्पिनरले विकेट लिन सफल भए ।
यस्तै जवाफी लक्ष्य पछाएको नेपालको सुरुवाती विकेट समेत अमेरिकाका स्पिनरले लिए । नेपालमाथि दबाब बनाउन अमेरिकाले समेत सुरुवात देखिनै स्पिनर आक्रमण गरेको थियो ।
दोस्रो ओभरमा अमेरिकाका केन्जीगेले कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेललाई क्लिन बोल्ड गर्न सफल भए ।
तर, नेपालका अनुभबी ब्याट्सम्यान पारस खड्का र दिपेन्द्र ऐरीले नेपाललाई सहज जित दिलाए ।
नेपालले अमेरिकालाई अलआउट गरेको ३५ रनको स्कोर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोरको हो ।
यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।