एजेन्सी । बंगलादेशविरुद्धको पहिलो टेष्टमा घरेलु टिम पाकिस्तानले एक इनिङ्स ४४ रनको जित निकालेको छ ।
रावलपिंडीमा पहिलो टेष्ट तेस्रो दिन सोमबार दोस्रो इनिङ्समा बंगलादेश १ सय ६८ रन जोड्दा अलआउट भएपछि पाकिस्तानले एक इनिङ्स ४४ रनको जित निकालेको हो ।
पहिलो इनिङ्समा खराब प्रदर्शन गरेको बंगलादेश दोस्रो इनिङ्समा पनि सस्तैमा समेटियो । बंगलादेशका मोनिनुल हकले सर्वाधिक ४१ रन जोड्दा नाज्मुल होसेनले ३८ रन बनाए । तमिम इकबालले ३४ रन जोड्दा लिटोन दासले २९ रन बनाए ।
पाकिस्तानी बलर निशम साहले टेष्ट क्रिकेटमा ह्याट्रिक गर्ने सर्वाधिक कम उमेरका खेलाडीको कीर्तिमान बनाएपछि बंगलादेशले दुई इनिङ्समा पनि पाकिस्तानले पहिलो इनिङ्समा बनाएको स्कोर पुरा गर्न सकेन । उनले ४० ओभरको चौंथो, पाँचौं र छैटौं बलमा विकेट लिँदै कीर्तिमानी ह्याट्रिक पुरा गरेका थिए ।
१६ वर्षको उमेरमा टेष्ट क्रिकेटमा ह्याट्रिक विकेट लिन सफल साहले दोस्रो इनिङ्समा ४ विकेट लिए । यस्तै यासिर साहले पनि ४ विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा बंगलादेशले अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो ।
पाकिस्तानले भने पहिलो इनिङ्समा अलआउट हुँदै ४ सय ४५ रन बनाएको थियो । पाकिस्तानका बाबर आजमले १ सय ४३ रनको शतकीय इनिङ्स खेले । यस्तै शान मसुदले पनि १०० रनको शतकीय इनिङ्स खेले । बंगलादेशका रुबेल होसेन र अबु जायदले ३/३ विकेट लिए ।
पहिली टेष्टमा जित निकालेसँगै पाकिस्तानले आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई बीचको अन्तिम तथा दोस्रो टेष्ट कराचीमा हुनेछ ।