काठमाडौं । ओमानका ब्याट्सम्यान अकिब इलासले नेपाली समर्थकको खुलेर प्रशंसा गरेका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालविरुद्ध शतक प्रहार गरेका अकिबले नेपाली समर्थकको खुलेर प्रशंसा गरेका हुन् ।
नेपालविरुद्ध शतक बनाएपछि ब्याटिङ अलराउन्डर अकिबले शतक समेत नेपाली समर्थकलाई समर्पित गरे । उनले नेपालमा जस्तो क्रिकेट समर्थक अहिलेसम्म नदेखेको पनि बताए ।
'हामीले यस्तो अचम्मको दर्शक अहिलेसम्म देखेको थिएनौं,' खेलमा प्लेयर अफ दि म्याच बनेका अकिबले भने, 'जीवनमा मैले देखेको सबै भन्दा राम्रो क्षण नै यहि हो ।'
यस्तै नेपाली समर्थकको व्यवहारले उनलाई अझ लोभ्याएको छ ।
'उनीहरुले (समर्थक) टिमलाई समर्थन गर्ने तरिका र राम्रो खेलेपछी गर्ने व्यवहार सबै भन्दा राम्रो कुरा हो,' अकिबले थपे, 'मलाई थाहा छैन अब म नेपाल कहिले आउने छु, त्यसैले मैले उनीहरुको लागि शतक समर्पित गरे ।'
नेपालले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानका लागि अकिबले १ सय ८ बलमा १२ चौका र १ छक्काको मद्दतमा १ सय ९ रनको अविजित इनिङ्स खेलेपछि ओमानले सहज जित निकालेको थियो । यस्तै ओमनका कप्तान जिसन मक्सुदले समेत अविजित ८ चौका सहित ६८ रनको अर्धशतकीय इनिङ खेले ।
अकिबको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो । शतक लगत्तै उनले ब्याट नेपाली दर्शकतर्फ देखाएका थिए । यस्तै दुवै घुँडा टेकेर उनले भगवानलाई समेत धन्यबाद दिएका थिए ।
नेपालविरुद्ध ओमानलाई जित दिलाउन उनले ब्याटिङसँगै बलिङमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए । उनले नेपालको ४ विकेट समेत लिएका थिए ।
फिल्डिङ गर्ने क्रममा चोट बोकेर उनी मैदानबाट बाहिरिएका थिए । तर, नेपाल चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेपछि ओमानले उनको खाँचो महसुस गरेको थियो ।
अकिबले यस खेल जिन्दगीको अविस्मरणीय रहेको पनि बताए ।
'यो पल निकै अविस्मरणीय छ । ४ विकेट लिएको खेलाडी चोट लागेर मैदान बाहिर आउनु । अनि फर्किने सोच नहुँदा टिमले मेरो महसुस गरेर ब्याटिङ पठाएर मैले शतक प्रहार गरे । मेरो लागि यो पल अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट पल हो,' उनले थपे ।
यस्तै ओमानले नेपालमा उत्कृष्ट प्रदर्शन जारी राख्नुको कारण यहाँको वातावरण र नेपाली समर्थक रहेको बताए ।
'हामीले गर्मि स्थानमा अभ्यास गरेका छौं । खेलपछी थकाई लाग्छ । तर, नेपालमा वातावरण अनुकुल छ अझ समर्थको साथले त्यसमा उर्जा थपिदिन्छ । त्यसैले ओमान नियमित राम्रो लयमा देखिएको होला,' उनले भने ।
खेल सकिएपछि अकिबले नेपाली समर्थकसँग फोटो खिच्दै आफ्नो आउटर जर्सी समेत समर्थकलाई दिएका थिए ।