काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको दोस्रो खेलमा नेपालले शनिबार अमेरिकालाई पराजित गर्यो ।
टियु क्रिकेट मैदानमा अमेरिकालाई ३५ रनले पराजित गर्दा डेब्यु खेलाडी कुशल मल्लले कीर्तिमानी अर्धशतक बनाए ।
कुशलले ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । र, कुशल एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतक प्रहार गर्ने सर्वाधिक कम उमेरका खेलाडी बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तिमान भंग गरे ।
कुशलले १५ वर्ष ३ सय ४० दिनमा अर्धशतक बनाएर कीर्तिमान बनाएका हुन् । यस अघि रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए ।
तर, डेब्यु खेलमा कीर्तिमानी अर्धशतक बनाएपनि कुशलले ब्याट उठाएनन् । कुशलले आफुले शतक बनाउने लक्ष्य लिएको कारण शतकपछि मात्र ब्याट उठाउने योजनासहित ब्याट नउठाएको बताए ।
'टिमको स्कोर थोरै थियो । टिमलाई अझै थुप्रै रन आवश्यक रहेको थियो,' खेलपछि कुशलले भने, 'अर्धशतक मात्र हैन शतकनै हान्छु भन्ने सोचेको थिए त्यसैले ब्याट उठाईन ।'
उनले अर्धशतक पुरा गर्दा नेपालको स्कोर १ सय २९ मात्र रहेको थियो । तर, कुशलको शतक सपना भने पुरा हुन सकेन । अर्धशतक पुरा गरे लगत्तै कुशल कारिम गोरेको बलमा हट्चिन्सनको हातबाट क्याच भए ।