एजेन्सी । सिड्नी सिक्सर्सले बिग बास लिग (बीबीएल) क्रिकेटको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा सिड्नीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सलाई १९ रनले पराजित गर्यो ।
वर्षाको कारण १२ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको सिड्नीले ५ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो । सिड्नीका जोस फिलिपले ५२ रन जोड्दा जोर्डन सिल्कले अविजित २७ रन बनाए ।
मेलबर्नका एडम जाम्पा र ग्लेन म्याक्सवेलले २/२ विकेट लिए । सन्दीप भने टिममा छैनन् । विश्व क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको खेलका लागि सन्दीप नेपाल आएका छन् ।
जवाफी ब्याटिङ गरेको मेलबर्नले १२ ओभरमा ६ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो । उसका निक लार्किनले ३८ रन बनाए । कल्टर नेलले १९ रन बनाए । सिड्नीका स्टिभ र नाथन लायनले २/२ विकेट लिए ।
यससँगै सिड्नीले दोस्रो पटक बीबीएलको उपाधि जित्न सफल भएको छ ।