काठमाडौं । अमेरिका क्रिकेट टिमका कप्तान सौरभ नेत्राभाल्करले नेपालका युवा खेलाडी कुशल मल्ललाई बहादुर खेलाडीको संज्ञा दिएका छन् ।
विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकालाई पराजित गर्न कुशलले डेब्यु खेलमा कीर्तिमानी अर्धशतक बनाएका थिए ।
खेलपछि अमेरिकी कप्तान नेत्राभाल्करले कुशलको खुलेर प्रसंसा गरे ।
'मलाई लाग्छ कुशल एक बहादुर खेलाडी हुन्,' खेल हारेपछि कुशलको इनिङ्सबारे कप्तान सौरभले भने, 'उनले सुरुवात देखि नै आक्रमण गर्ने हिम्मत राखे ।'
४९ रन बनाउँदा ५ विकेट गुमेको नेपालको लागि छैठौं र सातौं स्थानमा ब्याटिङ गर्न आएका कुशल र विनोद भण्डारीले नेपालको इनिङ्स उकासेका थिए । यी दुई खेलाडीले ८४ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याए ।
यस्तै नेपालले कुशललाई अमेरिकाविरुद्ध खेलाउने निर्णय सहि भएको सौरभले बताए ।
'दवाबको अवस्थामा युवा खेलाडी पठाएर नेपालले राम्रो निर्णय लिएको थियो,' उनले थपे, 'कुशल निकै क्षमतावान खेलाडी हुन् ।'
खेलमा कुशल र विनोद दुवैले अर्धशतक पुरा गरे । कुशलले ५१ बलमा ५ चौका र ३ छक्का सहित ५० रन बनाएर आउट भए । एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतक प्रहार गर्ने कुशल सबै भन्दा कम उमेरका खेलाडी हुन् । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तिमान भंग गरे ।
मल्लले १५ वर्ष ३ सय ४० दिनमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् ।
यसअघि सो कीर्तिमान नेपालकै रोहित कुमार पौडेलको नाममा थियो । पौडेलले १६ वर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए ।
अर्धशतक पुरा गर्नु अघि व्यक्तिगत ३८ रनमा बनाउँदा ३१ ओभर ५ बलमा थेरनको बलमा पटेलले कुशलको सहज क्याच छोडेका थिए ।
अर्धशतक बनाए लगत्तै कुशल कारिम गोरेको बलमा हट्चिन्सनको हातबाट क्याच भए ।