काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपालले अमेरिकालाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनायो ।
नेपालको लागि विनोद भण्डारी र डेब्यु खेलाडी कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । विनोदले ५९ रन बनाए । विनोदले ६२ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा विनोदको यो पहिलो अर्धशतक हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने उनी आठौं नेपाली खेलाडी हुन् ।
डेब्यु खेलमै अर्धशतक पुरा गरेका कुशलले ५० रन बनाए । कुशलले डेब्यु खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान समेत बनाएका छन् ।
कुशल कम उमेरमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कुशलले १५ वर्ष ३ सय ४० दिनमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् ।
यसअघि सो कीर्तिमान नेपालकै रोहित कुमार पौडेलको नाममा थियो । पौडेलले १६ वर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए ।
यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा पारस खड्का १९ रनमा आउट भए । करण केसीले १२ रन जोडे ।
अमेरिकाका क्यामरुन स्टेभेनसनले ३ विकेट लिए । रुस्ती थोरेन र कप्तान सौरभ नेत्राभाल्करले २/२ विकेट लिए ।