काठमाडौं । नेपालका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् ।
लिग-२ अन्तर्गत ओमानसँगको खेलमा चोट बोकेको कारण शरदले सिरिजको बाँकी खेल गुमाउने भएका हुन् ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शरद घाइते भएको कारण सिरिज गुमाउने पक्का भएको जानकारी दिए ।
'शरदले चोट बोकेका छन् । उनले कम्तिमा १० दिन आराम गर्नु पर्नेछ,' चन्दले खेलपाटीसँग भने ।
शरदले बुधबार ओमानसँगको खेलमा अर्धशतक बनाएका थिए । ओमानसँग १८ रनले पराजित भएको खेलमा शरदले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । ओमानसँग अर्धशतक बनाएसँगै लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा गरेका थिए ।
शरदले चोट बोकेसँगै उनको स्थानमा वैकल्पिक खेलाडीको रुपमा रहेका सुवास खकुरेललाई टिममा ल्याईने भएको छ । क्यानका अध्यक्ष चन्दले सुवासलाई टिममा राख्नको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीलाई पत्र पठाईसकेको बताए ।
'सुवासलाई टिममा राख्नको लागि आईसीसीलाई पत्र पठाईसकेका छौँ । आईसीसीको अनुमति पाएपछि सुवास टिममा हुनेछन्,' उनले थपे ।
सिरिज अन्तर्गत नेपालले अमेरिकासँग शनिबार टियु मैदानमा खेल्नेछ ।