एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स बिग बास लिग (बीबीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
मेलबर्नमा बिहिबार भएको च्यालेन्जर्स खेलमा सिड्नी थन्डरलाई २८ रनले पराजित गर्दै मेलबर्न फाइनलमा पुगेको हो ।
अब मेलबर्नले उपाधिका लागि सिड्नी सिक्सर्ससँग खेल्नेछ ।
मेलबर्नले दिएको १ सय ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।
सिड्नीका लागि एलेक्स रोसले ५८ रन जोड्दा अर्जुन नाइरले ३० रन बनाए । उस्मान ख्वाजाले २३ रन बनाउँदा क्रिस मोरिसले २१ रन बनाए ।
मेलबर्नक हरिस राउफले ३ विकेट लिए । एडम जाम्पा र नाथन कल्टरले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । मेलबर्नका लागि निक लार्किनले अविजित ८३ रन जोड्दा मार्कुस स्टोनिसले ८३ रन नै बनाए । सिड्नीका क्रिस मोरिसले २ विकेट लिए ।
सन्दीप भने टिममा छैनन् । विश्व क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको खेलका लागि सन्दीप नेपाल आएका छन् ।