काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा ओमानले अमेरिकालाई पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा बिहिबार ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।
यससँगै ओमानले सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको पहिलो खेलमा ओमानले नेपाललाई १८ रनले हराएको थियो ।
अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ४९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
ओमानको जितमा अकिब इल्यास र मोहमद नदीमले अर्धशतकीय इनिङ्स खेले । अकिबले ७२ रनको अर्धशतकीय इनिङ्स खेल्दा नदीले अविजित रहदै ५५ रन बनाए ।
सुरज कुमार ३३ रनमा अविजित रहे । खवर अलिले ३१ रन बनाए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो।
अमेरिकाका लागि इयन होल्याण्डले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अक्षय होमराजले ४४ रन बनाए ।
मोनाक पटेलले १९ रन जोड्दा कप्तान सौरभ नेत्राभाल्करले अविजित १४ रन बनाए ।
ओमानका मोहमद नदीमले ३ विकेट लिए । यस्तै बिलाल खान, इकाब इलास र जिसन मक्सुदले २/२ विकेट लिए ।
जितसँगै ओमानले लिगको शीर्ष स्थानको अमेरिकासँग अंक बराबरी गरेको छ ।
दोस्रो स्थानको ओमानले ८ खेलमा १२ अंक जोडेको छ । अमेरिकाले ९ खेलमा १२ अंक जोडेको छ ।