काठमाडौँ । विश्वकप छनोट अन्तर्गतको लिग विश्वकप क्रिकेट लिग २ मा नेपालले बुधबार पहिलो खेल खेल्दै छ । पहिलो घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको नेपालले ओमानको सामना गर्दैछ ।
यस सिरिजमा ओमानले तालिकाको शीर्ष स्थानमा उक्लने लक्ष्य लिएको छ । ओमानले लिगको २ खेल आफ्नो राजाको निधनका कारण खेलेको थिएन ।
ओमान ६ खेलमा ४ जित सहित ८ अंक जोडेर चौथो स्थानमा छ ।
ओमानले गुमाएको २ खेल आईसीसीले पुन खेलाउने बताएको छ ।
ओमानले लिगको पहिलो खेलमा युएईलाई सहजै पराजित गर्दै सुखद सुरुवात गरेको थियो । तर नामिबियासंग पराजित भएको ओमानले स्कटल्याण्ड र पीएनजीलाई पराजित गर्न सफल बन्यो ।
बिलाल सन् २०१९ को टी ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा ९ खेलमा १८ विकेट लिंदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।
यस्तै सन् २०१८ को एसिया कप छनोटमा समेत उनले ५ खेलमा १० विकेट लिंदै शीर्ष स्थान ओगटेका थिए ।
नेपालले भने लिगमा आफ्नो पहिलो खेल खेल्दै छ । नेपाल पहिलो सिरिजमा घरेलु मैदान र समर्थकको फाइदा उठाउने लक्ष्यमा रहेको छ ।
नेपालका प्रभाब पार्न सक्ने खेलाडी
पारस खड्का :
सर्वाधिक सफल कप्तान पारस खड्काले पहिलो पटक कप्तानको जिम्मेवारी विना एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दै छन् । यसअघि नेपालले खेलको ६ एकदिवसीय अन्तराष्ट्रिय खेलमा पारसले कप्तानी गरेका थिए ।
पारस नेपाल क्रिकेटका लागि उत्कृष्ट कप्तान मात्र नभएर उत्कृष्ट अल राउण्डर समेत हुन् । उनी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक प्रहार गर्ने एक मात्र खेलाडी हुन् ।
उनले युएईविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा १ सय १५ रन बनाएर सिरिज जिताउन मुख्य भूमिका खेलेका थिए । यस्तै पारस पारस एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपालको लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ६ खेलमा २ सय ३५ रन बनाएका छन् ।
टी ट्वान्टी अन्तराष्ट्रियमा समेत नेपालको लागि शतक प्रहार गर्ने पारस पहिलो खेलाडी हुन् ।
सन्दीप लामिछाने :
सन्दीप लामिछाने नेपालका ग्लोबल आइकन हुन् । उनी नेपालबाट अन्तराष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने पहिलो खेलाडी हुन् ।
सन्दीपले हालसम्म विश्वका चर्चित सबै फ्रेन्चाइज लिग खेलिसकेका छन् । सन्दीप हाल विश्व क्रिकेटमा निकै रुचाइएका स्पिनर हुन् ।
सन्दीप गत वर्ष टी ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको बनेका थिए ।
सन्दीप नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा सर्वा्धिक विकेट लिने खेलाडी समेत हुन् । उनले ६ खेलमा १५ विकेट लिएका छन् । हालै मात्र सन्दीप अस्ट्रेलियाको बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका थिए । उनी सिरिजका लागि नेपाल फर्किएका हुन् ।
प्रभाब पार्न सक्ने ओमानका खेलाडी
बिलाल खान :
एसोसियट क्रिकेटका सर्वाधिक सफल फास्ट बलरको रुपमा स्थापित नाम हो, बिलाल खान । गत वर्ष भएको टी ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा उनले सर्वाधिक विकेट लिएका थिए ।
’बिलाल ओमनका धारिला हतियार हुन् ।’ ओमनका प्रशिक्षक दुलिप मेण्डिजले भने, ’मलाई लाग्छ उनले ठुलो स्तरमा खेल्न सक्ने खेलाडी हुन् ।’
जितेन्दर सिंह :
भारतीय मूलका सिंह आक्रामक ब्याटिङको परिचय हुन् । उनले एक्लै खेलको नतिजा बदल्ने क्षमता राख्छन् । उनले चालू लिगमा भने खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।
ओमनलाई टी ट्वान्टी विश्वकपमा पुर्याउन उनको ठुलो योगदान रहेको थियो । यस्तै, उनको अर्धशतकमा ओमानले गत महिना भएको युएईविरुद्धको खेलमा जित निकालेको थियो ।
लिगको ६ खेलमा १ अर्धशतक सहित १ सय ४२ रन बनाएका छन् । आउने खेलमा उनको ब्याटिङबाट ओमानले ठुलो रनको आशा गरेको छ ।