काठमाडौं । चौंथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) टी-ट्वान्टी क्रिकेट आठ महिना पछि सरेको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको डीपीएल सरेको जनाएको छ ।
एकेडेमीले अब चौंथो संस्करणको प्रतियोगिता आगामी कात्तिक दोस्रो साताबाट आयोजना हुने जनाएको छ । नयाँ तालिका अनुसार प्रतियोगिता अर्को वर्षको कात्तिक ८ देखि २२ गतेसम्म हुनेछ ।
यस अघि फागुन ३ गतेबाट आयोजना हुने एकेडेमीले जनाएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टिम व्यस्त रहने हुँदा प्रतियोगिताको मिति सारिएको आयोजकले जनाएको छ ।
'चौथो संस्करण यही फेब्रुअरी १५ देखि २७ सम्म गर्ने यसअघि नै घोषणा गरिसकेका थियौं । तर,नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डरका कारण हामी प्रतियोगिताको आयोजना मिति सार्न बाध्य छौं,' एकेडेमीका अध्यक्ष सुवास शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अब चौथो संस्करण २०२० अक्टोम्बर २४ देखि नोभेम्बर ७ सम्म आयोजना हुने जानकारी गराउँदैछ ।'
प्रतियोगितामा ६ फ्रेन्चाईज टोलीले सहभागिता जनाउने छन् । सहभागि टिममा चौराहा धनगढी, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्स रहेका छन् ।
गत संस्करणको उपाधि अत्तरियाले जितेको थियो ।