काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो । नयाँ वरियतामा नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ ।
यसअघि पनि नेपाल टी-ट्वान्टीतर्फ १२ औं स्थानमै रहेको थियो । टी-ट्वान्टीतर्फ नेपालको सर्वाधिक उच्च वरियता ११ औं स्थान हो ।
टी-ट्वान्टीको विश्व वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन् ।
टी-ट्वान्टीको खेलाडी वरियताको ब्याटिङतर्फ नेपालका पारस खड्काको वरियता घटेको छ । नयाँ वरियतामा पारस ६२ औं स्थानमा रहेका छन् । अघिल्लो पटक पारस ६० औं स्थानमा रहेका थिए ।
बलिङतर्फ सन्दीप लामिछानेको वरियता घटेको छ । अघिल्लो पटक ८३ औं स्थानमा रहेका सन्दीप ८५ औं स्थानमा झरेका छन् ।
अलराउण्डतर्फ पारस यथावत २७ औं स्थानमा रहेका छन् भने सोमपाल कामी ६५ औं स्थान बनाउन सफल छन् ।
अलराउण्डरतर्फ करण केसी एक स्थान सुधार गर्दै ७५ औं स्थानमा उक्लिएका छन् ।