काठमाडौं । नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेले आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन सहयोग गर्ने भएका छन् ।
सन्दीपले आइतबार सामाजिक संजालबाट सिरिजमा आफुले लिएको एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ क्रिकेट विकासमा सहयोग गर्ने बताएका हुन् ।
'म नेपाल क्रिकेट एक शक्तिको रुपमा भएको हेर्न चाहान्छु जसलाई कसैले बेवास्ता गर्न सक्दैनन् । यो सपनामा लगानी गर्न म अमेरिका र ओमानविरूद्धको खेलमा लिएको प्रत्येक विकेटको लागि ८ हजार ८ सय ४८ रूपैयाँ दिने छु,' सन्दीपले ट्वीटरमा लेखेका छन्, 'नेपालको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला चांडै यथार्थमा परिणत हुनेछ ।'
नेपालले विश्व क्रीकेट लिग २ अन्तर्गतको आफ्नो पहिलो सिरिज माग २२ देखि २९ सम्म त्रिवि क्रिकेट मैदानमा खेल्दै छ । सिरिजमा नेपालले अमेरिका र ओमानको आतित्यथा गर्नेछ ।