नेपालगन्ज । वडा नम्बर २२ र १३ ले युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलप्रसाद उच्च माविको खेल मैदानमा शनिबार २२ नम्बर वडाले २३ नम्बर वडालाई २८ रनले हराएको छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको २२ नम्बरले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय २० रन जोडेको थियो ।
टोलीका लागि राकेश बर्माले २८ रन, दिनेश यादवले २३ रन र इमरान दर्जीले २१ रन बनाए । २३ नम्बर वडाका मोहम्मद अनिसले ४ विकेट र साहिद अन्सारीले २ विकेट लिए । मोहम्मदले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएका थिए ।
जवाफमा २३ नम्बर वडाले २० ओभरमा ६ विकेटको नोक्सानीमा ९२ रनमात्र बनाउ सक्यो । टोलीका लागि हाफिज शेखले २६ रन र मोहम्मद अनिसले १० रन बनाए । २२ नम्बरका बिनोद साहु र उदेश सहानीले समान २ विकेट लिए । खेलमा बिनोद म्यान अफ द म्याच र मोहम्मद अनिस म्याजिकल मुभमेन्टको पुरस्कारबाट सम्मानित भए ।
यसैगरी अर्को खेलमा १३ नम्बर वडाले १७ नम्बर वडालाई ८२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको १३ नम्बरले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय २८ रन जोडेको थियो ।
टोलीका लागि प्रेम केवटले २७ रन, प्रविन गिरीले २० रन र प्रताव शर्माले १८ रन बनाए । १७ नम्बरका सुफियान नाउँ र मोबिन इद्रिसीले समान २ विकेट लिए । जवाफमा १७ नम्बर वडाले १७ ओभरमा ४६ रन बनाएर अलआउट भएको थियो । टोलीका कुनै पनि खेलाडीले दोहोरो अंक जोडन सकेनन । १३ नम्बरका अंकुर सिहले ३ विकेट र प्रतिक गिरीले २ विकेट लिए । खेलमा प्रतिक म्यान अफ द म्याच र अंकुरले म्याजिकल भुममेन्टको पुरस्कार जिते ।
ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।