काठमाडौं । नेपाल क्रिकेट समर्थक समाज (एनसीएसएस) ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई तेस्रो चरणको सहयोग हस्तान्तरण गरेको छ ।
एनसीएसएसले शनिबार धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई नगद २ लाख १६ हजार २ सय ९५ रुपैयाँ हस्तान्तरण गरेको हो ।
यसअघि एनसीएसएसले रंगशाला निर्माणको लागि दुई चरणको सहयोग गरिसकेको छ । एनसीएसएसले पहिलो चरणमा २ लाख र दोस्रोमा १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।
तेस्रो चरणको सहयोग एनसीएसएसले रत्ननगर महोत्सवमा समर्थक समाजको चितवन शाखाले हिट एण्ड वीन कार्यक्रम र अवलोकन गर्न आउनेसँग उठाएको थियो ।
महोत्सवमा उठेको कुल रकमबाट ४ हजार १५ रुपैयाँ खर्च कटाएर बाँकी रकम फाउन्डेसनलाई हस्तान्तरण गरेको हो ।
नेपाली क्रिकेटमा रहेका विसङ्गतिप्रति आवाज उठाउँदै आएको नेपाल क्रिकेट समर्थक समाज नेपालको एक मात्र आधिकारिक संस्था हो ।