काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियन गेम्समा सहभागी हुने लनटेनिस टोली बैदेशिक प्रशिक्षणका लागि बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।
खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षण गर्नेछन् । त्यसै एकेडेमीमा मलेसियाको एसियन गेम्स खेल्ने लनटेनिस टोली पनि प्रशिक्षण गरिरहेकोले नेपाली खेलाडीले उनीहरुसंग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ ।
पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षक भूषण वज्राचार्य र प्रणव खनाल रहेका छन् । महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा छन् । संरक्षक र एनी हाल टोलीमा समावेश छैनन् । संरक्षक अस्ट्रेलियामा अध्ययनका साथै आफ्नो खेललाई निरन्तरता दिइ रहेका छन् भने एनी चेकोस्लोभाकियामा प्रशिक्षणरत रहेको टेनिस संघले जनाएको छ । एसियन गेम्समा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउने छ ।
लनटेनिसमा नेपालले १९७० को बैंकक एसियन गेम्सदेखि भाग लिन थालेको थियो । सहभागिताको यात्रा १९९० मा चीनको बेइजिङ एसियन गेम्ससम्म नियमित रह्यो । त्यसपछिका लगातार ४ संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहामा नेपालले लनटेनिसमा सहभागिता जनाएन । चीनको ग्वान्झाव एसियन गेम्सदेखि भने नेपालको सहभागिता पुनः निरन्तर छ ।
लनटेनिस टोली अगष्ट १७ मा मलेसियाबाटै पालेम्वाङ जाने तालिका छ । एसियन गेम्स अन्तर्गत लनटेनिस अगष्ट १९ देखि २६ तारिखसम्म हुनेछ ।
टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष समेत रहेकी नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबारै बिदाइ गरे ।