एजेन्सी । पुर्व विश्व नम्बर एक वेलायती टेनिस खेलाडी एन्डी मुर्रे वासिङ्गटन ओपन टेनिसबाट नाम फिर्ता लिएका छन् । वासिङ्गटनको क्वाटरफाइनलमा प्रवेश गरेपनि छोटो अवधिमा लगातार खेल खेल्नु परेको कारण मुर्रेले नाम फिर्ता लिएका हुन् ।
करिब एक बर्षपछि टेनिस कोर्टमा फर्किएका मुर्रेले तेस्रो प्रतियोगिता खेलिरेहेका थिए । तर, मुर्रेले एकै दिन दुई खेल खेल्नु पर्ने भएपछि नाम फिर्ता लिएका हुन् । हिप इन्जुरीको शल्यक्रियापछि मुर्रे गत जुनबाट टेनिस कोर्टमा फर्किएका हुन् ।
मुर्रेले रोमानियाका मरिउस कोपिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाउन ३ घण्टा दुई मिनेटको समय निकालेका थिए । वासिङ्गटन डिसीमा भएको खेलमा मुर्रेले कोपिललाई ६-७(५-७),६-३,७-६(७-४) को सेटमा हराएका थिए ।
मुर्रेले नाम फिर्ता लिएसंगै अष्ट्रेलियाका एलेक्स डी मिनौरले सेमिफाइनलमा स्थान बनाएका छन् । यस्तै मुर्रेले अर्को साताबाट सुरु हुने रोजर्स कपबाट समेत नाम फिर्ता लिएका छन् ।
३ पटकको ग्राण्डस्लाम बिजेता मुर्रेले अब सिनसिनाटी मास्टर्सको तयारी गर्ने बताएका छन् । सिनसिनाटी अगष्ट १३ बाट सुरु हुँदैछ ।