काठमाडौं । जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्नका लागि जापानको फुकुसिमाको तामुरा सिटीले नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ ।
नेपालकालागि जापानी राजदुत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीकातर्फबाट उपमेयर कावागौसी नाओयुकी र नेपाल ओलम्पिक कमिटीको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सन् २०२० टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुने खेलाडीको प्रि गेम्स ट्रेनिङ्ग क्याम्पसमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।
तीन बर्षे सम्झौतामा नेपालका खेलाडीलाई एक्पोजर दिनेदेखि उनीको प्रशिक्षणमा सो शहरले सहयोग गर्ने छ ।
बार्षिक करिब १ करोड रुपैयाँ खेलाडीको ट्रेनिङ्गमा खर्च गरिने सम्झौतामा उल्लखे छ । जस अन्तर्गत एथलेट सोसाइटी, जापानको गैर सरकारी संस्थाको सक्रियतामा खेलाडीको स्तरबृद्धिको कार्यक्रम संचालन हुनेछ ।
आज सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको एमओयु कार्यक्रममा तामुरा सिटीका उपमेयरको नेतृत्वमा पाँच सदस्यी जापानीज टोलीको सहभागीता रहेको थियो । हिजोमात्र उनीहरु काठमाडौं आइपुगेका थिए ।
तीन दिन सम्म सो टोली नेपालमा बस्ने छ । सो अवसरमा एथ्लेट सोसाइटीकी युरिका नाकामुराले भोली एक इन्डोर र आउटडोर स्पोर्टस वर्कशप गर्ने छिन् ।