एजेन्सी । पुर्व विश्व नम्बर एक वेलायती टेनिस खेलाडी एन्डी मुर्रे वासिङ्गटन ओपन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् ।
वासिङ्गटन डिसीमा शुक्रबार भएको खेलमा रोमानियाका मरिउस कोपिललाई हराएर मुर्रेले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । खेलमा ३१ बर्षीय मुर्रेले कोपिलमाथि ६-७(५-७),६-३,७-६(७-४) को जित निकाले ।
योसंगै ३ पटकको ग्राण्डस्लाम बिजेता मुर्रेले सन् २०१७ पछि पहिलोपटक क्वाटरफाइनलमा स्थान पक्का गरे । पछिल्लोपटक मुर्रेले सन् २०१७ को विम्बल्डन टेनिसमा क्वाटरफाइनलको यात्रा तय गरेका थिए ।
करिब एक बर्षपछि टेनिस कोर्टमा फर्किएका मुर्रेले अब अष्ट्रेलियाका एलेक्स डी मिनौरसंग खेल्नेछन् । हिप इन्जुरीको शल्यक्रियापछि मुर्रे गत जुनबाट टेनिस कोर्टमा फर्किएका हुन् । शल्यक्रियापछि मुर्रेको यो तेस्रो प्रतियोगिता हो ।
वासिङ्गटन ओपन अन्तर्गत नै तेस्रो वरियता प्राप्त डेभिड गोफिन र सातौं वरियताका केइ निशिकोरीले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।