काठमाडौं ।
जब जब दक्षिण एसियाली खेलकुदको चर्चा हुन्छ, एथ्लेटिक्सको नाम जबर्जस्त आउँछ ।
सागको ईतिहासलाई फर्केर हेर्दा एथ्लेटिक्सको नतिजा गर्विलो छ । साग सफलताको सुन्दरतालाई एथ्लेटिक्सलेनै जलप लगाएको भन्दा फरक नपर्ला ।
तर दुर्भाग्य, ट्रायक एण्ड फिल्डमा नेपालको पछिल्ला रेकर्ड सन्तोषजनक छैन, अझ भनै निराशाजनक छ ।
धेरै भैसक्यो नेपालले जित्न छाडेको ।
दक्षिण एसियामा भारत र श्रीलंकाको दबदबा सामु नेपालको एथ्लेटिक्स नतमस्तक जस्तै छ ।
एक हिसावले आत्मसमर्पण गरेको जस्तै ।
तर मंगलबार दशरथ रंगशालाको ट्रायक एक ईतिहासको साक्षी बस्यो ।
नेपालकी सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा स्वर्ण जितिन् ।
भारत र श्रीलंकाको चुनौती पन्छाउँदै उनले स्वर्ण हात पारेकी हुन् ।
सागको ईतिहासमा स्वर्ण जित्ने उनी पहिलो महिला एथ्लिट बनिन् ।
लामो समय एथ्लेटिक्समा शुन्य प्राय बनेको स्वर्ण पदकमा सन्तोषीले नाम लेखाईन् ।
ट्रायक एण्ड फिल्डमा कोरिएको नयाँ ईतिहासलाई घरेलु खेलकुदले लामो समय सम्झिरहनेछ ।
सन्तोषी स्वभावले लजालु छिन् । सर्माउनु उनको आदत हो । तर जब उनी ट्रयाकमा उनी पुग्छिन्, आत्मविश्वास चुलिएको देखिन्छ ।
मंगलबार उनले त्यही आँटिलो दौड दौडिन् । र ट्रयाक एण्ड फिल्डमा आफ्नो प्रभाव छाडिन् ।
खेलकुदमा एक मान्यता स्थापित छ, पढाई र खेलसंग संगै जान सक्दैन ।
एक समय करियर वा पढाई रोज्नुपर्ने बाध्यता हरेक खेलाडीको जिवनमा आउँछ ।
तर सन्तोषीले दुवैलाई व्यवस्थापन गरिन् ।
पब्लिक हेल्थको विद्यार्थी सरस्वतीले एथ्लेटिक्सको विधामा आफ्नो नाम स्थापित गरिन् ।
१० हजार मिटर दौडमा सुरुमै अग्रता लिएकी उनले अन्तिम समयसम्म कायम राखेकी थिईन् ।
भनिन्छ, लामो दुरीको दौडमा पछाडी रहने धावकलाई खेल जित्न सजिलो हुन्छ । तर तिव्र पेशकी सन्तोषीले भारतीय र श्रीलंकाली धावकलाई कुनै मौकानै दिईनन् ।
अन्तिम ल्याबमा करिब ५० मिटर बाँकी रहदाँ भारतीय खेलाडीले सन्तोषीलाई उछिन्न पुगिन् र छेक्न खोजिन् ।
तर सन्तोषीले तत्काल ट्रयाक चेन्ज गर्दै अन्तिम पाईलामा भारतीय खेलाडीलाई उछिन्न सफल भईन् ।
एक हिसावले त्यो दौड सन्तोषीलाई जित्न लेखिएको हुनुपर्छ ।
‘उनले आँट गरेरै स्वर्ण जितेकी हुन् ।’ स्वर्ण लगत्तै एथ्लेटिक्स संघका महासचिव समेत रहेका प्रशिक्षक सुनिल राजवंशीले खेलपाटीसंग भने ।
सागको तयारी सन्तोषीले राष्ट्रिय टिम बाहिर बसेरै गरिन् ।
उनलाई एथ्लेटिक्स संघका पुर्व अध्यक्ष समेत रहेका प्रशिक्षक रघुराज वन्तले अभ्यास गराएका थिए । सन्तोषीले जुन सफलता हात पारिन्, त्यसको श्रेय रघुलाई पनि जानुपर्छ ।
उनैले सन्तोषीलाई दैनिक अभ्यास गराए । ट्रेनिङको योजना बनाए । अनि विजय यात्रासम्म डोर्याउने काम गरे ।
‘कसैको वास्ता नगर, आफ्नै गतिमा दौड्न भनेको थिए । उनले त्यसै गरिन् ।’ जितपछि वन्तले खेलपाटीसंग भने ।
प्रशिक्षक रघु सन्तोषीको जितको श्रेय तीन जनालाई दिन्छन् ।
एक, पुलिस क्लब । जसले अभ्यास गर्दा सधै सहयोग गर्ने काम गर्यो ।
दोस्रो, शुनिल राजवंशी । जसले ट्रेनिङमा सधै सहयोग गरे । वन्त अनुपस्थित रहँदा सन्तोषीलाई अभ्यास गराए ।
तेस्रो, एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ । जसले सधै सहयोगी भुमिका खेले । आफु मुख्य प्रशिक्षक भए पनि सन्तोषीलाई रघुसंग अभ्यास गर्ने वातावरण सिर्जना गरिदिए ।
‘सन्तोषीको जितको श्रेय यिनै तीन जनालाई जान्छ ।’ अगाडीको बाटोबारे रघु भन्छन्, ‘अब कसैलाई दोष लगाउन जरुरी छैन । आफ्नै क्षमताले अघि बढ्न पर्छ ।’
स्वर्ण त सन्तोषीले समेत सोचेकी थिईनन् । तर सक्दो गर्छु भन्ने थियो । लगातार दुई बर्षयता नियमित अभ्यास गरिरहेकी सन्तोषीले अन्तिममा आफुलाई प्रमाणित गरिन् ।
‘स्वर्ण सक्दिन भन्ने थियो । तर सक्दो राम्रो गर्छु भन्ने थियो ।’ जितपछि उनले भनिन्, ‘दुई बर्षयता लगातार ट्रेनिङ गर्न सकु भन्ने थियो । पदक आफै आउँछ भन्ने लागेको थियो ।’