एजेन्सी । युरोपेली राष्ट्रले प्रतिस्पर्धा गर्ने पहिलो संस्करणको युरोपियन च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । बृहत खेलकुद प्रतियोगिताको अवधारणामा सुरु गरिएको पहिलो संस्करणको च्याम्पियनसिप जर्मनी र स्कटल्याण्डमा हुँदैछ ।
आगामी अगष्ट १२ सम्म आयोजना हुने च्याम्पियनसिपमा ७ खेल समावेश गरिएको छ । च्याम्पियनसिपमा एथ्लेटिक्स, स्वीमिङ्ग, साइक्लिङ, गल्फ, रोविङ, जिम्न्यास्टिक र ट्राइथोलनका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
मिनी ओलम्पिकको रुपमा हेरिएको च्याम्पियनसिपको एथ्लेटिक्स खेल जर्मनीको बर्लीन हुनेछ । अन्य खेल स्कटल्याण्डमा हुनेछ । ११ दिन चल्ने च्याम्पियनसिपमा १८८ स्वर्ण पदकको लागि ४५ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा युरोपका ३८ राष्ट्रले सहभागिता जनाउने छन् । जसमा ओलम्पिक र विश्व च्याम्पियनसिपमा पदक जितिसकेका खेलाडीको बाहुल्यता रहने छ ।