काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा पाकिस्तानले सहभागिता नजनाउने भएको छ ।
नेपाल भलिबल संघका एक पदाधिकारीले महिला भलिबलमा पाकिस्तानले सहभागिता नजनाउने पक्का भएको जानकारी दिए । पाकिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएको उनले बताए ।
अब सागको महिला भलिबलमा ५ टिमले मात्र प्रतिस्पर्धा गर्नेछ । महिला भलिबलमा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् ।
पाकिस्तानले पुरुष भलिबल भने खेल्नेछ । पाकिस्तानको पुरुष टिम मंगलबार नेपाल आईपुग्नेछ ।
यस अघि सार्वजनिक गरिएको खेल तालिका अनुसार पाकिस्तान समूह 'बी' मा रहेको थियो । उक्त समूहमा माल्दिभ्स र श्रीलंका पनि रहेका थिए ।
नेपालको समूह समूह 'ए' मा भने भारत र बंगलादेश रहेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुने भलिबलको खेल बुधबारबाट सुरु हुनेछ ।
सागका लागि भारत र पाकिस्तानबाहेक अन्य राष्ट्रका खेलाडी नेपाल आईसकेका छन् ।