काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन बंगलादेश, श्रीलंका र माल्दिभ्सको भलिबल टिम नेपाल आईपुगेका छन् ।
साग अन्तर्गत बुधबारबाट सुरु हुने भलिबलका लागि तीन राष्ट्रको पुरुष र महिला टिम सोमबार नेपाल आईपुगेका हुन् ।
सागको अथिति सत्कार समितिका सदस्य राजन खत्रीले तीन राष्ट्रको भलिबल टिम नेपाल आइपुगेको र बाँकी दुई टिम मंगलबार नेपाल आउने जानकारी गराए ।
अब भारत र पाकिस्तानको भलिबल टिम नेपाल आउन बाँकी रहेको छ ।
सागको भलिबल भने उद्घाटन अघि नै सुरु हुनेछ । उद्घाटनसम्म भलिबलतर्फको समूह चरणका खेल सकिनेछ ।
पुरुषतर्फ समूह 'ए' मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समूह 'बी'मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।
महिलातर्फ समूह 'ए' मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समूह 'बी' मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् ।