काठमाठौं । नेपालले सिंगापुरमा आयोजना हुने एसिया रग्बी सेभेन्स ट्रफी खेल्ने भएको छ । गत हप्ता मात्रै एसियाको पूर्ण सदस्यता पाएको नेपालले अगष्ट ३ र ४ गते हुने रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गर्ने भएको हो ।
नेपाली टोलीलाई बुधबार एक कार्यक्रमकाबीच संघले विदाई गरेको छ । १२ खेलाडीसहित कुल १५ सदस्यीय टोलीलाई नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, महासचिव चेतनराज गिरी र सचिव गोविन्दबहादुर घिमिरे लगायतले बिदाई गरे ।
नेपाली टोली बिहीबार सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । कृष्णको कप्तानीमा रहेको नेपालले आफ्नो समूह ‘बी’ मा युएई, जोर्डन र इन्डोनेसियासँग चुनौती प्रस्तुत गर्नेछ । लिगकम नकआउटका आधारमा हुने ट्रफीमा समूह ‘ए’ मा थाईल्यान्ड, इरान, काजाखस्तान र उज्बेकिस्तान तथा समूह ‘सी’ मा सिंगापुर, पाकिस्तान, बंगलादेश, ब्रुनाई र लाओस छन् ।
टोलीको उपकप्तानमा विराट श्रेष्ठ, कृष्णप्रसाद धमला, श्रीराम श्रेष्ठ, विराट ऐडी, हुतराज प्रधान, प्रेमबहादुर कोइराला, बिक्रम पुरी, जनक वाइवा, झुकेन राई, सन्जय अधिकारी र सिकिन्दर अधिकारी रहेका छन् । नेपाली टिमको प्रशिक्षकमा श्रीलंकाली राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका राधिका, टिम व्यवस्थापकमा इन्द्रबहादुर तामाङ र फिजियोमा लक्ष्मण अधिकारी रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल युएइसँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष २ टोली र अंकका आधारमा थप २ टिमले क्वार्टरफाइनलमा खेल्नेछ । क्वार्टरमा विजेता ४ राष्ट्रले ट्रफी खेल्दा पराजित ४ राष्ट्रले प्लेट च्याम्पियनसिप खेल्नेछ ।