काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय भलिबल टिम अन्तिम मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।
बैंगलोरमा सोमबार नेपाल भारतको राष्ट्रिय टिमसँग ५-० को सोझो सेटमा पराजित भएको हो ।
साउदर्न साई कभर्डहलमा नेपाललाई भारतले २५-१५, २८-२६, २५-१९, २५-१९ र २५-१९ को सेटमा पराजित गर्यो । मैत्रीपूर्ण खेल भएको कारण खेल पाँच सेटमा खेलाईएको थियो ।
योसँगै नेपालले भारतसँगको तीन वटै मैत्रीपूर्ण खेलमा हार व्यहोरेको छ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको हो ।
नेपाली टोलीले भारतमा मैत्रीपूर्ण खेलसँगै विशेष प्रशिक्षण गरिरहेको छ । नेपाली टिम मंगलबार साँझ स्वदेश फर्कने छ ।
नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।