काठमाडौं । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिम सम्मानित भएका छन् ।
एभिसी सेन्ट्रल जोनमा ऐतिहासिक उपाधि जितेको राष्ट्रिय महिला भलिबल टिमलाई सोमबार राष्ट्रिय वाणिज्य बैंकले सम्मान गरेको हो । बैंकले महिला टिमलाई हौसला प्रदान गर्न सम्मान गरिएको जनाएको छ ।
बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले टिमकी कप्तान अरुणा शाहीलाई मायाँको चिनो र सम्मानपत्र दिएका थिए ।
सम्मानपछि टिमकी कप्तान अरुणाले सम्मानले खेलाडीलाई खेल्न अझ उत्साह बढ्ने र हौसला मिल्ने बताईन् ।
‘हामीलाई आज राष्ट्रिय वाणिज्य बैंकले सम्मान कार्यक्रमको आयोजना गर्दै मायाको चिनो प्रदान गरेको छ । मैले यस सम्मानप्रति आभार प्रकट गरेको छु । यस्तो कार्यक्रमले खेलाडीमा हौसला बढेको छ ,’ उनले भनिन्, ‘हामी धेरै खुशी छौं ।’
ढाकामा कात्तिक २८ गते भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक उपाधि जितेको थियो । जुन भलिबलको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।
सोही अवसरमा नेपाली महिला भलिबल टिमलाई मलेसियाका खेल सामग्री का ब्यापारी स्टुवार्टले दुई सेट जर्सी प्रदान गरेका थिए ।