काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक संजाल ट्वीटरबाट ऐतिहासिक पदक विजेता नेपाली टिमलाई बधाई दिएका हुन् ।
'बंगलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता बन्न सफल भएकोमा नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछु,' प्रधानमन्त्री ओलीले ट्वीट गर्दै लेखेका छन् ।
ढाकामा बिहिबार सम्पन्न प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको थियो । फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक उपाधि जितेको थियो ।
महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो ।
महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।