काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले आसन्न दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्नेमा आफु आशावादी रहेको बताएकी छिन् ।
बंगलादेशमा एभिसी सेन्ट्रल जोनको उपाधि जितेर नेपाल फर्किएकी कप्तान शाहीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलपाटीसँग खेलाडीको बढेको आत्मविश्वास र थपिएको अनुभवले सागमा स्वर्ण जित्नेमा आफु आशावादी रहेको बताएकी हुन् ।
कप्तान शाहीले एभिसी सेन्ट्रल जोनले खेलाडीमा अनुभव थपिएको बताउँदै टिमको संयोजन समेत उत्कृष्ट बनेको दाबी गरिन् ।
‘धेरै परिश्रम र अभ्यास गरेका छौ । प्रतियोगिताले एउटा अनुभव थपिएको छ । टिमको संयोजन समेत धेरै राम्रो छ । सबै खेलाडीमा आत्मविश्वास तथा नयाँ अनुभव थपिएको छ ।’ उनले भनिन् ।
उनले भारत र श्रीलंका प्रतियोगितामा सहभागी नहुनु नेपालको समस्या नभएको बताउँदै कुनैपनि नतिजा निकाल्न नेपाल समक्ष रहेको उल्लेख गरिन् ।
‘श्रीलंका र भारत नआएर नेपालले खेल जित्यो भन्न मिल्दैन । भारत र श्रीलंका सहभागि नहुनु उनीहरुकै कुरा हो,’ उनले भनिन्, ‘तर उनीहरु सहभागी भएपनि खेल जे पनि हुन सक्थ्यो ।’
उनले विगतमा हार्नुको दुख बंगलादेशमा जितेको स्वर्ण पदकले नमेटिने बताईन् ।
यस्तै, प्रतियोगिताकी उत्कृष्ट स्पाईकर प्रतिभा मालीले सबै खेलाडीले उत्कृष्ट प्रर्दशनले उपाधि जित्न सफल भएको बताईन् ।
‘टिममा धेरैजसो नयाँ खेलाडी हुदाँ संयोजन नमिल्ने हो कि भन्ने लागेको थियो । तर सबैले आफ्नो उत्कृष्ट प्रर्दशन गरेर उपाधि जितेका हौ,’ उनले भनिन् ।
साग भन्दा तलको प्रतियोगिता खेलेको अनुभव भएको बताउँदै उनले सागमा स्वर्ण जिते यो भन्दा ठुलो खुसी मिल्ने बताईन् ।
‘साग भन्दा तल्लो प्रतियोगिता खेलेको अनुभव भयो । सबैजना खुशी छौ । सागमा स्वर्ण जित्दा यो भन्दा धेरै खुसी हुनेछौ,’ उनले थपिन्, ‘टिमको संयोजना राम्रो छ । आसन्न सागमा पनि राम्रो प्रर्दशन गर्नेछौ ।’