काठमाडौं । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएका छन् ।
ढाकामा बिहिबार सम्पन्न प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको नेपाली टिम शुक्रबार नेपाल आईपुगेको हो । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिब रमेश सिलवाल, भलिबल संघका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।
फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक उपाधि जितेको थियो । अपराजित रहदै उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्समाथि २५-१३, २५-१२ र २५-८ को जित निकालेको थियो ।
महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो । महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।
त्यस्तै महिला टिमले दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य पदक जितेको छ । पुरुष भलिबल टिमले भने हालसम्म कास्य पदक मात्र जितेको छ । नेपाली पुरुष टिमले तेस्रो संस्करणको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य जितेको थियो ।