काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमकी मुख्य खेलाडी सरस्वती चौधरीले एभिसी सेन्ट्रल जोनको उपाधिले महिला भलिबलमा राम्रो प्रभाव पर्ने बताएकी छिन् ।
बंगलादेशमा भएको पहिलो संस्करणको एभिसी सेन्ट्रल जोनको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेकी सरस्वतीले बंगलादेशी भुमीमा महिला भलिबलले छुट्टै ईतिहास रचेको बताईन् ।
‘सेन्ट्रल जोनको उपाधि जितेपछि सबैमा महिला भलिबलले केही गर्छ भनेर राम्रो प्रभाव पार्नेछ । र नेपालले भलिबलमा नयाँ इतिहास पनि रच्न सफल भएको छ ।’ उनले भनिन् ।
माल्दिभ्सलाई फाइनलमा ३–० को सेटमा हराउँदै महिला भलिबल टिमले ऐतिहासिक उपाधि हात पारेको थियो ।
नेपालकी नम्बर एक स्पाईकर सरस्वतीले च्याम्पियन बन्दा धेरै खुशी र गर्व लागेको बताईन् ।
‘उपाधि जित्दा खुशी छौ । नेपालको नाम अन्तराष्ट्रिय भुमीमा चम्काउन पाउँदा गर्व लागेको छ ।’ उनले थपिन् ।
विभागीय टिम एपीएफकी खेलाडी सरस्वतीले सबैको सहयोग र संयोजनले उपाधि जित्न सहयोग पुगेको बताईन् ।
‘टिमको सहयोग, नयाँ खेलाडीको संयोजनले गर्दा उपाधि सम्भव भयो भन्ने लाग्छ ।’ उनले थपिन्, ‘उपाधिबाट नयाँ खेलाडीमा आत्मविश्वास र सबै खेलाडीमा अनुभव बढेको छ ।’
उनले एभिसी सेन्ट्रल जोनको उपाधिले १३ औ सागमा स्वर्ण जित्न धेरै सहयोग पुग्ने बताईन् ।
‘उपाधि जित्दा धेरै खुशी छौ । अझ घरेलु मैदानमा हुने १३ औं सागमा स्वर्णपदक जित्यौ भने अझ बढी खुशी हुनेछौ । सेन्ट्रल जोनको उपाधिले सागमा धेरै सहयोग पुग्छ । सागमा पनि स्वर्ण पदकनै जित्नेछौ ।’ उनले थपिन् ।
थाईल्याण्डमा लामो समयको प्रशिक्षण, मैत्रीपूर्ण खेल तथा एभिसी सेन्ट्रल जोनको उपाधिले खेलाडीले धेरै अनुभव बटुल्ने मौका पाएको सरस्वतीले बताईन् ।