काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै नेपाललाई ऐतिहासिक पदक दिलाउन खेलाडीहरु आतुर रहेको बताएका छन् ।
बंगलादेशमा जारी पहिलो संस्करणको च्याम्पियनसिपको फाइनल अघि खेलपाटीसँग कुरा गर्दै प्रशिक्षक भट्टले उपाधि जित्दै महिला भलिबलमा नयाँ इतिहास रच्न खेलाडी आतुर रहेको बताएका हुन् ।
‘खेलाडीहरु फाइनल खेलका लागि धेरै उत्साहित छन्,' प्रशिक्षक भट्टले भने, ‘आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेर नेपाललाई पहिलो ऐतिहासिक पदक दिनका लागि खेलाडी आतुर छन् ।’
नेपालले आज अपरान्ह उपाधिका लागि माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।
माल्दिभ्सलाई हराउँदै उपाधि जित्न सके नेपालले ऐतिहासिक सफलता पाउने छ । यस उपाधि जिते नेपाली महिला भलिबलले पहिलो स्वर्ण जित्दै इतिहास बनाउने छ ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई लिग चरणमा हराएको थियो । त्यसैले फाइनलमा पनि नेपाल त्यहीँ नतिजा आत्मसात गर्ने लक्ष्यमा हुनेछ ।
‘नेपालले पदक जित्ने सम्भावना धेरै छ । तर, खेलमा कुनैपनि टिमलाई कमजोर ठान्नु हुँदैन, खेल हो जे पनि हुनसक्छ ।’ प्रशिक्षक भट्टले थपे, ‘तर ,हाम्रा खेलाडी फाइनलमा आफ्नो शतप्रतिशत दिनेछन् ।’
प्रतियोगितामा अपराजित रहेको नेपालले लिग चरणमा माल्दिभ्ससँगै बंगलादेश, अफगानिस्तान र किर्गीस्तानलाई पनि सोझो सेटमा पराजित गरेको थियो ।
यस्तै प्रशिक्षक भट्टले एभिसी सेन्ट्रल जोनको उपाधिसँगै घरेलु मैदानमा हुने १३ औं सागमा स्वर्ण जित्नु नेपालको मुख्य लक्ष्य रहेको बताए ।
‘यस प्रतियोगितालाई हामीले १३ औं सागको तयारी प्रतियोगिता मानेका छौं । यो प्रतियोगितामा स्वर्ण जितेर नेपाललाई अन्तराष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पदक दिनेछौ । तर हाम्रो मुख्य लक्ष्य भनेको १३ औं सागमा स्वर्ण पदक जित्नु हो । यो सबै तयारी यसैको लागि हो,’ प्रशिक्षक भट्टले भने ।
प्रशिक्षक भट्टले यस प्रतियोगिताले नयाँ खेलाडीमा आत्मविश्वास र अनुभव बढेको समेत बताए । यस प्रतियोगिताबाट नेपालका ६ खेलाडीले डेब्यु गरेका छन् ।