काठमाडौं । नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
ढाकामा मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो ।
शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५-७, २५-६ र २५-६ को सेटले पराजित गर्यो ।
बंगलादेशविरुद्ध नेपालकी सुनिता खड्का प्लेयर अफ दि म्याच चुनिए ।
यस अघि नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा किर्गीस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
अब नेपालले अन्तिम खेलमा बुधबार बलियो टिम माल्दिभ्सको सामना गर्ने छ । नेपालसँगै माल्दिभ्स पनि फाइनल पुगेको छ ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो र चौथो हुने टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।