काठमाडौं । राष्ट्रिय महिला भलिबल टिममा ६ नयाँ अनुहारको प्रवेश भएको छ ।
बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोनका लागि राष्ट्रिय टिमको घोषणा गर्दा ६ नयाँ अनुहारले स्थान बनाएका थिए ।
राष्ट्रिय टिममा परेका सबै नयाँ अनुहारले आफुमाथि राष्ट्रको जिम्मेवारी थपिएको महशुश गर्छन् । उनीहरु राष्ट्रलाई अन्तराष्ट्रिय पदक जिताउने आफ्नो लक्ष्य रहेको उल्लेख गरेका छन् ।
बंगलादेशमा जारी पहिलो एभिसी सेन्ट्रल जोनको उपाधि जिताउन नयाँ अनुहार आतुर छन् । के उनीहरु सफल होलान् ?
खेलपाटीसँगको संवादमा उनीहरुले राष्ट्रिय टिममा पर्नु गर्वको बिषय रहेको उल्लेख गर्दै स्वर्णीम अवसरलाई खुलेर सदुपयोग गर्ने बताए ।
राष्ट्रिय टिममा परेका नयाँ अनुहार के भन्छन् त ?
निरुता ठगुन्ना
राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेकोे छ । अब केही गर्नुपर्छ भन्ने लागेको छ । जिम्मेवारी पनि थपिएको छ । धेरै मिहिनेत गरेर राष्ट्रिय टिमसम्म आएको छु ।
स्थानीय प्रतियोगिता आर्मीबाट खेल्थें, राष्ट्रिय टिमबाट खेलेको थिएन । बन्द प्रशिक्षणमा पहिलो पटक परेको हुँ । प्रशिक्षणमा राम्रो टे«निङ पाए, छनोट भए ।
केही गर्नुपर्छ भन्ने जिम्मेवारी बढेको छ । नयाँ अनुहारले राम्रो गर्नुपर्ने चुनौती छ । राष्ट्रका लागि स्वर्ण जित्ने लक्ष्य छ ।
सलिना श्रेष्ठ
पहिलोपटक राष्ट्रिय टिममा पर्दा धेरै उत्साहित छु । यहाँसम्म आउन धेरै गाह्रो भयो । तीन पटकमा पहिलो चोटी राष्ट्रिय टिममा परेको हुँ । गाह्रो पनि छ, संघर्ष पनि धेरै गरेको छु ।
सुरुवाती दुई पटक फालिदा दुख लागेको थियो । तेस्रो पटकमा छनोट भए । यो मेरो लक्ष्य पनि हो । राष्ट्रिय टिममा लिब्रोको जर्सी लाउने ईच्छा पुरा भएको छ । मनभित्रै देखि धेरै खुशी लागेको छ । यहाँसम्म आइपुग्न न्यु डायमण्डको धेरै हात छ, कुमार सरको योगदान छ ।
यहाँसम्म आईपुग्न आफैले र कुमार सरले धेरै मेहनत गरेका छौ । भर्खरै थाईल्याण्डमा गएर अनुभव समेत बटुलेका छु । राष्ट्रिय टिमसम्मको यात्रा तय गर्न सहयोग गर्ने कुमार सर र न्यु डायमण्डलाई बिशेष धन्यवाद दिन चाहन्छु ।
सुनिता खड्का
धेरै खुशी लागेको छ । ३–४ वर्ष गरेको दुखको नतिजा पाएको छु । राष्ट्रिय टिममा पर्न धेरै संघर्ष गरेको छु । सुरुमा भलिबल भनेकै थाहा थिएन । तर ३–४ बर्षमा राष्ट्रिय टिमसम्म पुग्दा साह्रै खुसी छु ।
भलिबल जिवनका गुरुहरु धन्यवादका पात्र हुनुहुन्छ । सबैलाई सम्झिएको छु । राष्ट्रिय टिममा पर्न एक बर्षयता कोशिश गरिरहेको थिए । अहिले पुरा भयो । बन्द प्रशिक्षणमा परेको पहिलो बर्षमै राष्ट्रिय टिममा छनोट भए ।
पछिल्लो एक बर्षबाट राष्ट्रिय टिममा पर्न प्रयास गरिरहेको थिए । बन्द प्रशिक्षकमा आएको पहिलो पटकमै राष्ट्रिय टिममा छनोट भए ।
त्रिशूलीमा सैनिक केन्द्रमा सामान्य तालिम गर्दै आएको थिए । पूर्व राष्ट्रिय भलिबल खेलाडी दिप खड्काले राम्रो उचाई देखेर छनोटमा ल्याउनु भएको थियो । अब राष्ट्रको सम्पत्ति हुन पाउँदा धेरै सम्झिएको छु ।
पुनम चन्द
राष्ट्रिय टिममा पर्दा धेरै उत्साहित छु । खेलाडी भइसकेपछि राष्ट्रिय टिमबाट खेल्नु सबैको सपना हुन्छ ।
यो सपना पुरा भएको छ । केही सपनाहरु पुरा भइरहेका छन् । केही अझै बाँकी छन् । मुख्य प्रतिस्पर्धाको परिक्षा हुन बाँकी छ ।
तर राष्ट्रिय टिममा पर्दा धेरै खुशी छु । राष्ट्रिय टिममा पहिलो बर्षमै परेको हुँ ।
जानकी भण्डारी
राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेको छ । दुईपटकमा टिममा परेको हुँ । पहिला आर्मीबाट खेल्थें । अब राष्ट्रिय टिमबाट खेल्न पाउँदा खुशी छु । पहिला १८ जनाबाट फालिदाँ सिक्दै थिए । त्यसैले धेरै दुख लागेन । दोस्रो पटक राम्रो गर्छु भन्ने थियो ।
दोस्रो पटकमा टिममा परेर धेरै खुसी लागेको छ । जिम्मेवारी पनि थपिएको छ । सबैको लक्ष्य स्वर्ण पदक जित्नु रहेको छ ।
सोफिया पुन
राष्ट्रिय टिममा पर्दा धेरै खुशी छु । पहिलो पटकमै टिममा परेको हुँ । भलिबलमा ३–४ वर्ष दुख गरे । राष्ट्रिय टिममा पर्नु सपना थियो । आज पुरा भएको छ ।
अब जिम्मेवारी पनि थपिएको छ । पहिला क्लब र संस्थाको लागि खेल्थे । अब देशकोलागि खेल्दैछु । देशका लागि स्वर्ण जित्ने लक्ष्य छ ।