काठमाडौं । नेपाल राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्न कुनै चुनौती नभएको बताएका छन् ।
ढाकामा जारी च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेपछि प्रशिक्षक भट्टले नेपाललाई उपाधि जित्न कुनै चुनौती नभएको दाबी गरे ।
‘एभिसी सेन्ट्रल जोनमा हामीलाई त्यस्तो केही चुनौती छैन । मेरो विचारमा हामीले सबै टिमलाई जित्न सक्छौ।’ प्रशिक्षक भट्टले खेलपाटीसँग भने ।
नेपालले सोमबार किर्गीस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । सहज जित निकाल्ने क्रममा नेपालले किर्गीस्तानलाई २५–१५, २५–१९ र २५–२० को सेटमा पराजित गर्यो ।
यस अघि आइतबार भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ ले हराएको थियो ।
यस्तै, प्रशिक्षक भट्टले आगामी खेलमा पनि नेपालले उच्च प्रर्दशन गर्ने बताए ।
‘आगामी खेलमा हामीले उच्च प्रर्दशन गर्छाै । टिमहरु पनि राम्रै छन् तर हामीले कुनै पनि टिमहरु कमजोर भने ठानेका छैनौं,’ उनले थपे, ‘तर हामी उपाधि भने जितेरै ल्याउनेछौ ।’
च्याम्पियनसिपमा अब नेपालले बंगलादेश र माल्दिभ्ससँग खेल्न बाँकि रहेको छ ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो र चौथो हुने टिमले तेस्रो र चौथो स्थान हासिलका लागि पुन प्रतिस्पर्धा गर्नेछन् ।