काठमाडौं । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज (सोमबार) बलियो टिम कीर्गिस्तानसँग खेल्दैछ ।
ढाकामा जारी प्रतियोगिताको पहिलो खेलमा जित निकालेको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्वन्दीको सामना गर्न लागेको हो । नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुनेछ ।
शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले कीर्गिस्तानलाई हराउँदै लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न निकै मेहेनत गर्नु पर्नेछ । किर्गीस्तान पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा किर्गीस्तान माल्दिभ्ससँग पराजित भएको थियो ।
किर्गीस्तानपछि नेपालले मंगलबार आयोजक बंगलादेश र अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो र चौथो हुने टिमले तेस्रो र चौथो स्थान हासिलका लागि पुन प्रतिस्पर्धा गर्नेछन् ।