काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले नयाँ खेलाडीको प्रर्दशनबाट सन्तुष्ट भएको बताएका छन् ।
बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेपछि प्रशिक्षक भट्टले पहिलो खेलमा नयाँ खेलाडीको प्रदर्शन सन्तुष्टिजनक रहेको बताए ।
ढाकामा अफगानिस्तानविरुद्ध ३-० को ओझो सेटमा जित निकाल्दा नेपालका ६ खेलाडीले डेब्यु गरेका थिए । अफगानिस्तानविरुद्धको खेलमा नेपालकी निरुता थगुन्ना, पुनम चन्द, सलिना श्रेष्ठ, सोफिया पुन र जानकी भण्डारीले डेब्यु गरेका थिए ।
‘नयाँ खेलाडीको आजको खेलबाट धेरै सन्तुष्ट छु । यतिको खेल्नु भनेको धेरै राम्रो हो ।’ प्रशिक्षक भट्टले खेलपाटीसँग भने ।
अफगानिस्तानविरुद्ध नेपालले २५–४, २५–९ र २५–६ को सेटमा जित निकालेको थियो ।
यस्तै, प्रशिक्षक भट्टले टिम उपाधि जित्न बंगलादेश आएको र त्यहिँ अनुसार आगामी खेलमा प्रदर्शन गर्ने समेत बताए ।
‘हामी यहाँ उपाधि जित्नका लागि आएका हौं । हामी यस प्रतियोगितामा गोल्डमेडल जित्नेछौ,’ उनले थपे, ‘यस्तै हाम्रो लक्ष्य भनेको १३ औं सागमा गोल्डमेडल जित्नु हो । र, शतप्रतिशत नै जित्नेछौ ।’
भट्टले अफगानिस्तानविरुद्धको खेलमा नेपाली टिममा आत्मविश्वास पक्ष बलियो देखिएको समेत बताए ।
त्यस्तै कप्तान अरुणा शाहीले पहिलो खेल प्रतिस्पर्धात्मक नभएको बताईन् ।
‘आज त्यति राम्रो प्रतिस्पर्धी थिएन त्यसैले खेलेको जस्तो भएन,’ उनले भनिन्, ‘खेल प्रर्दशन चै राम्रै भएको थियो ।’
यस्तै कप्तान अरुणाले नेपाली टिमको स्पाईक धेरै बलियो भएको बताईन् ।