काठमाडौं । नेपालले बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
ढाकामा आइतबार भएको पहिलो खेलमा सहजप्रतिद्वन्दी अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो ।
शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले अफगानिस्तानलाई २५-४, २५-९ र २५-६ को सेटमा पराजित गर्यो ।
जितसँगै नेपालले ३ अंक जोडेको छ । खेलमा नेपालकी प्रतिभा माली प्लेयर अफ डी म्याच चुनिए ।
अफगानिस्तानविरुद्ध नेपालका ६ खेलाडीले डेब्यु समेत गरे । नेपालकी निरुता थगुन्ना, पुनम चन्द, सुनिता खड्का, सलिना श्रेष्ठ, सोफिया पुन र जानकी भण्डारीले डेब्यु गरिन् ।
अब नेपालले दोस्रो खेलमा सोमबार कीर्गिस्तानसँग खेल्नेछ । त्यस्तै नेपालले मंगलबार आयोजक बंगलादेश र अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो र चौथो हुने टिमले तेस्रो र चौथो स्थान हासिलका लागि पुन प्रतिस्पर्धा गर्नेछन् ।