काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबलमा नेपालले आज (आईतबार) अफगानिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।
बंगलादेशमा शनिबार सुरु प्रतियोगितामा नेपालले पहिलो खेलमा अफगानिस्तानसंग खेल्न लागेको हो ।
ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ ।
आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीमा रहेको महिला टिमले लामो समयदेखि नियमित प्रशिक्षणमा छ ।
भर्खरै मात्र थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएको महिला टिमले बलिया टिमसंग मैत्रीपूर्ण भलिबल खेल्ने अवसर पाएको थियो ।
पछिल्लो समय निरन्तर अभ्यास रहेको महिला टिमले पहिलो एभिसी सेन्ट्रल जोनमा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।
टिमकी कप्तान अरुणा शाहीले प्रतियोगिताको बलियो प्रतिद्वन्दी माल्दिभ्स रहेको उल्लेख गर्दै उसलाई हराएर स्वर्ण जित्ने लक्ष्य रहेको बताएकी छिन् ।
प्रतियोगितामा नेपाल सहित कीर्गिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान समावेश छन् ।
राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टिम अरुणा शाहीको कप्तानीमा मैदान उत्रनेछ ।
नयाँ कप्तानको जिम्मेवारी पाएपछि अरुणाले अन्तराष्ट्रिय प्रतियोगितामा पहिलो पटक नेपाली टिमको नेतृत्व गर्दैछिन् ।
नेपाली टिम:
अरुणा शाही
प्रतिभा माली
सरस्वती चौधरी
निरुता ठगुन्ना
रेश्मा भण्डारी
पुनम चन्द
जानकी भण्डारी
सुनिता खड्का
सोफिया पुन
उषा कुमारी बिष्ट
कमला पुन
सलिना श्रेष्ठ