काठमाडौं । महिला भलिबल पुर्नसंरचनाको क्रममा छ । सागका लागि भएको खेलाडी छनोट धेरै पुराना खेलाडी बाहिर फालिए ।
धेरै नयाँ अनुहारलाई राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षणमा सहभागी हुने मौका पाए । त्यो समय भविष्यको राष्ट्रिय टिमलाई हेरेर नयाँ अनुहार समावेश गरिएको भलिबल संघको दलील थियो ।
मुख्य कुरा रुप परिवर्तन गर्दै गएको महिला भलिबलले नयाँ कप्तान पाएको छ । अरुणा शाही महिला भलिबलकी नयाँ कप्तान हुन् ।
देशको कप्तानी पाएकी अरुणासंग आसन्न सागमा नेपाललाई एतिहासिक उपलब्धी दिलाउनुका साथै बंगलादेशमा सुरु भएको एभिसी सेन्ट्रल जोन भलिबलमा देशलाई सफलता दिलाउनुपर्ने चुनौती छ ।
बंगलादेशमा रहेको महिला टिमले त्यसअघि थाईल्याण्डमा प्रशिक्षण र अभ्यास गरेको थियो ।
नयाँ कप्तानको रुपमा अरुणाको कप्तानी अनुभव, थाईल्याण्ड भ्रमण र एभिसी सेन्ट्रल जोनमा नेपालको लक्ष्य लगायतको बिषयमा खेलपाटीकी गीता राईले नयाँ कप्तान अरुणा शाहीसंग कुराकानी गरेकी छिन् ।
कप्तान बन्दाको अनुभव
कप्तानको जिम्मेवारीलाई सुनौलो अवसरको रुपमा महसुस गरेको छु । टिमलाई राम्रो गराएर नतिजा ल्याउन पाए हुन्थ्यो भन्ने लाग्छ ।
कोर्टमा प्रवेश गरेपछि पहिला जसरी खेल्थे, त्यही अनुभव अहिलेसमेत छ । तर कप्तान भएपछि टिमको संयोजन कसरी गर्र्ने भन्ने कर्तव्य हुन्छ ।
दबाब त पहिला पनि थियो । स्थान परिवर्तन भएर पहिला सेटरमा थिए ।
कप्तान हुँदा कर्तव्य धेरै छ ।
थाइल्याण्ड भम्रणको अनुभव
थाईल्याण्डमा भएको अभ्यास लगभग एउटै हो । थाईल्याण्ड गएर खेल्न पाउँदा अनुभव बढ्यो । नयाँ खेलाडीलाई धेरै राम्रो भयो । उनीहरुमा आत्मविश्वास बढे जस्तो लाग्छ । प्रतिद्वन्दी खेलाडीबाट नयाँ सिप सिक्यौ । गतिदेखि कसरी खेल्ने भन्ने सिक्यौ ।
थाईल्याण्डको अभ्यास तथा मैत्रीपूर्ण खेलले एभिसी सेन्ट्रल जोनमा सहयोग पुग्छ । जति अभ्यास खेल खेल्यो, उतिनै सहयोग पुग्ने हो । मैत्रीपूर्ण खेलले धेरै मदत पुग्छ जस्तो लाग्छ ।
एभिसीमा लक्ष्य
एभिसी सेन्ट्रल जोनमा हाम्रो लक्ष्य स्वर्णनै हो । तर नतिजा भन्ने कुरा प्रर्दशनमै निर्भर रहन्छ । सबैको आश अनुसार स्वर्ण आउँछ जस्तो लाग्छ । सबैले मेहनत गरेका छौ ।
माल्दिभ्स पहिला हामीसँग हारेको टिम हो । हाम्रो भन्दा माल्दिभ्सको म्याच अनुभव धेरै राम्रो छ । उनीहरुले एसियन गेम्सदेखि विभिन्न प्रतियोगिता खेलेका छन् ।
तर हामीले टक्कर दिन सक्ने प्रतिस्पर्धी हो । त्यसैले स्वर्ण ल्याउने लक्ष्य लिएका छौ ।