काठमाडौं । भारतको राष्ट्रिय भलिबल टिमसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष भलिबल टिम बैंगलोर प्रस्थान गरेका छन् ।
नेपाली टिम शनिबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाली टिमलाई शुक्रबार नै नेपाल भलिबल संघले विदाई गरेको थियो ।
नेपाली टिमले भारतको राष्ट्रिय टिमसँग ३ मैत्रीपूर्ण खेल खेल्ने छ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरूप नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
यस्तै संघले सागका लागि नेदरल्याण्डका लेस्ले डि जोङलाई मुख्य प्रशिक्षक चयन गरिसकेको छ । डच प्रशिक्षक डि जोङले टिमलाई भारतमै भेट्ने छन् । उनि ११ नोभेम्बरमा भारत पुग्ने छन् ।
सागका लागि नेपालले १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेको छ ।
राष्ट्रिय टिममा पर्न सफल खेलाडीमा ईम राना, राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा, टेकराज अवस्थी, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापा मगर, विनोद चन्द, विशाल विक, शरण सम्री क्षेत्री, कुलबहादुर थापा, रविन चन्द रहेका छन् ।
त्यस्तै, नरेन्द्र गिरी, दिपकराज जोशी, दुर्गा महतो र राजु शेरचन टिमबाट बाहिरिएका छन् ।
साग खेलकुद मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुदैछ ।