काठमाडौं । प्रतिनिधि सभामा विनियोजन विधेयकमाथीको छलफल जारी छ । बिहिबारको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजन विधेयकमाथी छलफल भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा आज बसेको बैठकमा सांसद प्रेम सुवालले अन्तराष्ट्रिय स्तरको रंगशालाको जग्गा सिफारिसमा ५० लाख रुपैयाँ सिध्याउन खोजिएको बताएका छन् ।
सांसद सुवालले अन्तराष्ट्रिय स्तरको रंगशालाको सर्तमा स्पष्ट नभएर मन्त्रालयले जग्गा सिफारिसमा ५० लाख रुपैयाँ राखेर बजेट सिध्याउन खोजेको आरोप लगाए ।
खेलकुद मन्त्रालय शीर्षकको खर्च कटोती प्रस्ताव पेश गर्दै सांसद सुवालले जग्गाका लागि ६ जिल्लाको नाम बजेटमा तोकिएपनि त्यस क्षेत्रका जनतासंग कुनै छलफल नगरिएको बताए ।
उनले एक जना सहसचिवलाई कार्यदलको नेतृत्व गराएर भित्र भित्रै ५० लाखको बजेट सकिने गरि स्थल सिफारिस गराउन लागेको भन्दै बजेट कटौतीको माग गरे ।
सांसद सुवालले बजेटले विधालय र कलेजमा खेलकुदलाई अनिवार्य गर्न नसकेको बताउदै खेल क्षेत्रलाई शैक्षिक उपाधि सरह हुने नीति बनाउन सरकार असफल भएको उल्लेख गरे ।