काठमाडौं । भारतको राष्ट्रिय भलिबल टिमसँगको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको विदाई गरिएको छ ।
नेपाल भलिबल संघले शुक्रबार भारत जाने नेपाली टिमको विदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिब जितेन्द्र बहादुर चन्द लगायतले नेपाली टिमको विदाई गरे ।
नेपाली टिम शनिबार भारत प्रस्थान गर्ने छन् । नेपाली टिमले भारतको राष्ट्रिय टिमसँग ३ मैत्रीपूर्ण खेल खेल्ने छ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरूप नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
यस्तै संघले सागका लागि नेदरल्याण्डका लेस्ले डि जोङलाई मुख्य प्रशिक्षक चयन गरिसकेको छ । डच प्रशिक्षक डि जोङले टिमलाई भारतमै भेट्ने छन् । उनि ११ नोभेम्बरमा भारत पुग्ने छन् ।
सागका लागि नेपालले १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेको छ ।
राष्ट्रिय टिममा पर्न सफल खेलाडीमा ईम राना, राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा, टेकराज अवस्थी, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापा मगर, विनोद चन्द, विशाल विक, शरण सम्री क्षेत्री, कुलबहादुर थापा, रविन चन्द रहेका छन् ।
त्यस्तै, नरेन्द्र गिरी, दिपकराज जोशी, दुर्गा महतो र राजु शेरचन टिमबाट बाहिरिएका छन् ।
साग खेलकुद मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुदैछ ।