काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा उपाधि जित्न खेलाडी तयार रहेको बताएका छन् ।
एभिसी सेन्ट्रल जोनका लागि बंगलादेशको ढाका प्रस्थान गर्नु अघि खेलपाटीसँग कुरा गर्दै प्रशिक्षक भट्टले नेपाललाई उपाधि दिलाउन खेलाडीहरु मानसिक रुपमा तयार रहेको बताए ।
नेपाली टोलीले थाइल्याण्डमा राम्रो तयारी गरेको कारण सेन्ट्रल जोनमा उपाधि जित्ने लक्ष्य रहेको प्रशिक्षक भट्टको भनाई छ ।
'थाइल्याण्ड भ्रमणमा सेन्ट्रल जोनमा प्रतिस्पर्धा गर्ने सबै टिमभन्दा माथिल्लो स्तरका टिमसँग हामीले खेलेका छौ । त्यसकारण पहिलो संस्करणको प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउने हाम्रो लक्ष्य रहेको छ,' प्रशिक्षक भट्टले भने, 'खेलाडीहरु त्यसको लागि मानसिक रुपमा तयार छन् ।'
सेन्ट्रल जोन र नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली टिमले थाइल्याण्डमा झन्डै एक महिना तयारी गरेको थियो ।
थाइल्याण्ड भ्रमण नेपाली टिमका लागि फलदायी भएको समेत प्रशिक्षक भट्टले बताए । थाइल्याण्ड भ्रमणले खेलाडीमा आत्मविश्वास बढेको र जितका लागि मानसिक रुपमा तयार बन्न सिकाएको भट्ट बताउछन् ।
'हामीले थाइल्याण्डमा माथिल्लो स्तरको टिमसँग मैत्रीपूर्ण खेल खेल्यौ । जति नै बलियो टिम भएपनि आफ्नो सय प्रतिशत दिए जित्न सक्छौ भन्ने मनोबल बढेको छ,' प्रशिक्षक भट्टले भने, 'खेलाडीहरु जित्नैपर्ने कुरालाई लिएर मानिसक रुपमा तयार भएका छन् । त्यसकारण थाइल्याण्डको भम्रण फलदायी भएको छ ।'
नेपाली टिमले थाइल्याण्डमा ७ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा ४ जित र ३ हार व्यहोरेको थियो । तर, नतिजा जे आएपनि सो मैत्रीपूर्णले सबै खेलाडीलाई एक्पोजर मिलेको र उनीहरुको कमी कमजोरी औल्याउन सजिलो भएको प्रशिक्षक भट्टले बताए ।
'तयारी र मैत्रीपूर्ण खेलको दृष्टिकोणमा थाइल्याण्ड बसाई राम्रो भयो । खेलाडीलाई एक्सपोजर मिलेको छ र उनीहरुको मनोबल बढेको छ । विपक्षी टिमसँग हामी कुन पक्षमा कमजोर छौँ । हाम्रो सानासाना गल्तिहरु सच्याउने, हाम्रो गल्ती तथा बलियो पक्ष र कमजोर पक्षलाई विश्लेषण गर्ने मौका पायौं,' प्रशिक्षक भट्टले भने ।
यस्तै प्रशिक्षक भट्टले नेपाली टिम शारीरिक, मानसिक र टेक्निकल रुपमा फिट भएको कारण १३ औं सागको स्वर्ण पदक नजिक रहेको समेत बताए ।
एभिसी सेन्ट्रल जोनमा नेपाल अरुणा शाहीको कप्तानीमा कोर्ट उत्रने छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, कीर्गिस्तान र माल्दिभ्स रहेका छन् ।