काठमाडौं । नेपाल रग्बी संघले एसियन रग्बीको पूर्ण सदस्यता प्राप्त गरेको छ । काजखस्तानको एस्टनामा आइतबार काउन्सिलको बैठकले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए ।
पछिल्लो समय नेपालले रग्बी खेलको गरेको विकास र दिर्घकालिन योजनाका आधारमा रग्वी एसियाले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको हो । एसियाली रग्बीको बैठकमा सहभागी हुन काजखस्तानमै रहेका संघ अध्यक्ष घिसिङले काउन्सिलका पूर्ण सदस्य राष्ट्रलाई धन्यवाद दिँदै नेपालमाथि थप जिम्मेवारी थपिएको प्रतिक्रिया दिए ।
बैठकमा अध्यक्ष घिसिङ र कोषाध्यक्ष विजय मोक्तानले नेपालको प्रतिनिधित्व गरेका थिए । उक्त बैठकमा संघ अध्यक्ष घिसिङले नेपालको वर्तमान अवस्था र भावी रणनीति बारेमा रिपोर्ट प्रस्तुत गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् ३७औँ नम्बरमा दर्ता भएको रग्बी संघले एसिया रग्बीमा पूर्ण सदस्यता प्राप्त गर्ने १८औँ राष्ट्र बन्यो । काउन्सिलको बैठकमा नेपाल र सिरिया गरी थप २ राष्ट्रले पूर्ण सदस्यताका लागि प्रस्तुत गरेको थियो । पूर्ण सदस्यतासँगै नेपालले एसिया रग्बीबाट प्राविधिक सहयोग प्राप्त गर्नेछ ।