काठमाडौं । नेपालले बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरेको छ ।
नेपाल भलिबल संघले मंगलबार अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा संघले अरुणालाई टिम नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । विनिता अहिले बिच भलिबलको राष्ट्रिय टिममा रहेकी छिन् ।
बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट नेपालले सेन्ट्रल जोनका लागि १२ खेलाडी छनोट गरेको हो । बन्द प्रशिक्षणमा रहेकी मध्ये शान्ति तामाङ, उषा भण्डारी, संगम महतो, आरती सुवेदी, हीरा केसी र शान्ति थारुले स्थान बनाउन सकेनन् ।
थाइल्याण्ड भ्रमणको दौरान खेलाडीले गरेको प्रदर्शनको आधारमा नेपाली टिम छनोट गरिएको हो ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टिमले झन्डै एक महिना थाइल्याण्डमा प्रशिक्षण गरेको थियो । नेपाली टिम सोमबार मात्र स्वदेश फर्किएको थियो ।
एभिसी सेन्ट्रल जोन कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्किमिनिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टिम:
अरुणा शाही
प्रतिभा माली
सरस्वती चौधरी
निरुता ठगुन्ना
रेश्मा भण्डारी
पुनम चन्द
जानकी भण्डारी
सुनिता खड्का
सोफिया पुन
उषा कुमारी बिष्ट
कमला पुन
सलिना श्रेष्ठ